हेलिकप्टरको प्रयोग गर्दा पनि निभाउन सकेन बालाजु औद्योगिक क्षेत्रको आगलागी

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान ०९:०४ बजे

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रको भीषण आगलागी अझै नियन्त्रणमा लिन सकेको छैन ।
औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ ।प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन ।
सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । अहिले भने हेलिकप्टर फर्किसकेको छ ।
१९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो ।
सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको प्रहरीको भनाइ छ ।






















