कृषि

राखुका किसानलाई सुन्तला ढुवानीको समस्या

रासस
२०८२ मंसिर २९ | मध्यान्ह ०३:०८ बजे

म्याग्दी, मंसिर २९ । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानी गर्न समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकमा सुन्तला ढुवानी गर्ने गाडी उक्लन नसक्ने भएकाले किसानलाई सुन्तला बजार पठाउन झञ्जट एवं समस्या हुनुका साथै कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था आएको हो ।

बगैँचामा टिपेको सुन्तला ट्याक्टरमा राखेर नयाँपुलमा झार्ने र नयाँपुलबाट गाडीमा राखेर बेनी, पोखरा, काठमाडौँ, चितवनलगायत बजारमा पठाउने गरिएको राखुका कृषक भविकला थापा रानामगरले बताउनुभयो ।“तल्लो राखुबाट नयाँपुलसम्म एकपटक सुन्तला ढुवानी गरेको एक वटा ट्याक्टरले रु तीन हजार लिन्छ भने उपल्लो राखुबाट रु तीन हजार पाँच सय खर्च हुन्छ,” उहाँले भन्नुभयो, “बगैचा र नयाँपुलमा दुई पटक लोड अनलोड गर्दा थप खर्च हुने गरेको छ ।”

अन्यत्रका किसानले प्रतिकिलो रु ८० देखि ८५ मा सुन्तला बेचे पनि राखुका किसानले सडक र ढुवानीको समस्याले गर्दा प्रतिकिलो रु ७५ मा बेच्न बाध्य भएको उहाँले भन्नुभयो । ग्रेड नमिलेको, साघुरो सडकमा घुम्ती धेरै छन् । मोटरसाइकल, जिप र ट्याक्टर मात्र चल्ने सडक जोखिमयुक्त छ ।

सडक पुग्नुअघि यहाँका किसानले बेनीका डोके ब्यापारीलाई सस्तोमा सुन्तला बेच्ने गरेका थिए । सडक आएपछि डोकोमा बोकेर सुन्तला बजार पठाउनुपर्ने समस्या हटे पनि स्तरोन्नतिमा ढिलाई भएको किसानहरू नरबहादुर रानाले गुनासो गर्नुभयो ।

विसं २०७३ मा तत्कालीन भकिम्ली गाविस र किसानहरूको रु ५० लाख लागतमा जयन्ती माविबाट राखु हुँदै नयाँपुल जोड्ने करिब पाँच किलोमिटर सडकको मार्ग खुलेको थियो । सडक निर्माणका लागि स्थानीयवासी महिलाले १३ जना महिलाले बैंकमा सुन धितो राखेर रु १२ लाख ऋण जुटाएका थिए ।

बेनी नगरपालिकाले घुम्तीमा ढलान र बर्खामा खसेको पहिरो पन्छायर यातायात सञ्चालनको ब्यवस्था मिलाएको छ । सामान्य मर्मतको भरमा सडक सञ्चालन भएको छ । बेनपा–३ का वडा अध्यक्ष पदम पुनले राखुको सडकलाई स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरिएको बताउनुभयो ।

राखुका ६५ घरपरिवार किसानले व्यावसायिक सुन्तला खेती गरेका छन् । वार्षिक रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको कृषक खिम पुनले बताउनुभयो । नयाँ बिरुवा थपिदै गएकाले वर्षेनी सुन्तलाको उत्पादन बढेको उहाँले बताउनुभयो ।

सुन्तला खेतीले रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । काम र अवसरको खोजीमा बजार तथा विदेशिनुपर्ने समस्या कम भएको छ । कृषक गङ्गाबहादुर घर्तीले सुन्तलाले फल दिन थालेपछि विदेश जानु नपरेको बताउनुभयो । एक सय ८० बोटबाट उहाँले वार्षिक रु चार लाख मूल्यको सुन्तला बिक्री हुने बताउनुभयो ।

पूर्व फर्किएको भिरालो पाखोमा रहेको राखुको भूगोल र जमिन सुन्तला खेतीका लागि अनुकल छ । सिचाइँको पर्याप्त सुविधा छ । कोदो र मकै बालीको विकल्पमा व्यावसायिक सुन्तला खेती गरेका छन् । राखुवासीले सुन्तलाखेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

कमेन्टहरु