समाज

जेनजी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको टिजर सार्वजनिक

नवलपुर टुडे
२०८२ मंसिर २८ | मध्यान्ह ०४:०८ बजे
चितवन । जेन्जी आन्दोलनप्रति समर्पित चलचित्र बिगुलको टिजर सार्वजनिक भएको छ । आज (आइतबार) एक मिनेट १२ सेकेन्ड लामो टिजर सार्वजनिक भएको हो । सार्वजनिक टिजरमा नै जेन्जीको भावना मर्न दिन नहुने बिषय समावेश छ ।

देश परिवर्तनका लागि जेन्जीले गरेको आन्दोलन र त्याग खेर जान दिन नहुने बिषय टिजरमा छ । दिनेश कोइरालाको कथा र निर्माण रहेको चलचित्र बिगुलमा उठाईएको बिषयबस्तु गत भदौमा जेन्जी युवाले गरेको देशब्यापी आन्दोलनसँग मेल खान्छ । जेन्जी पुस्ताले आन्दोलनमा उठाएका मागसँग मेल खाने बिषय समेटेर आफूले पहिले नै चलचित्रको कथा लेखेको निर्माता तथा लेखक दिनेश कोइरालाको भनाइ छ ।

पहिले नै तिनै बिषयमा केन्द्रित भइ फिल्म निर्माण गरिनु अचम्मको संयोग भएको निर्माण पक्षको भनाइ छ । बिगुलमा उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको कोइरालाको भनाइ छ । यो चलचित्र जेन्जी आन्दोलनप्रति समर्पित गरिएको उनले बताए । चलचित्रले युवा र महिलामा चेतना जगाइ भ्रष्टाचार र बिकृति उन्मुलनका लागि परिवर्तनको बिगुल फुकेको उनको भनाइ छ । 

निर्देशक कोइरालाले पारिवारिक,सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, भुइँमान्छेहरुको सपना,संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा देखाउन खोजेको बताए । फिल्मले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ ।

रमेश कोइरालाको निर्देशन,कल्पना पौडेलको प्रस्तुति तथा म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

सूर्य कान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेको चलचित्रमा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा,सम्वाद,शिब ढकालको छायाङकन रहेको छ । चलचित्रमा कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत,तारा थापा किम्भेको सम्पादन रहेको छ ।  

कमेन्टहरु