देश

गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित

जगत ठाडा मगर
२०७८ साउन २३ | बिहान ०९:०४ बजे

काठमाडौ । गैरआवासीय नेपाली संघ युकेको अध्यक्षमा प्रेम गाहा मगर निर्वाचित भएका छन्।
निर्वाचन कमिटीका अनुसार गाहा मगरले चार हजार ५७४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले दुई हजार १९१ र अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले दुई हजार १४८ मत प्राप्त गरेकी छन्। युकेमा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउँसो १२ बजे सकिए पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको हो ।

त्यसै गरी उपाध्यक्षमा सुनिल बाबु खड्का, नारायण कंडेल, मोहन कार्की तथा गोविन्द खरेल निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा शकुन्तला गुरुङ निर्वाचित भएकी छिन् । त्यस्तै महासचिवमा खुसी लिम्बु र सचिवमा ज्ञानेन्द्र बहादुर आले तथा विष्णु चालिसे निर्वाचित भएका छन् ।

यसै गरी युवा संयोजकमा तीर्थबहादुर मल्ल (अनिल) तथा महिला संयोजकमा विमल लिम्बु निर्वाचित भएका छन्। इंगल्याण्ड राज्य परिषद्को अध्यक्षमा लालबहादुर गुरुङ, उपाध्यक्षमा भक्त दर्जी, त्यस्तै स्कटल्याण्ड राज्य परिषद्को अध्यक्षमा काशिराम भण्डारी र उपाध्यक्षमा उज्ज्वल कार्की निर्वाचित भएका छन्।

यसै गरी नर्दन आयरल्याण्डको राज्य परिषदको अध्यक्षमा बल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । प्रमुख निर्वाचन आयुक्त महेन्द्र राज कंडेलले आफूले निर्वाचनमा सुधार गर्न खोजेको तर विश्वभरिबाट दबाब आएको बताए। मिडिया र सामाजिक संजालमा निर्वाचन कमिटिको आलोचना गरिएको भन्दै उनले आक्रोश पोखेका थिए ।

अध्यक्ष पदकी एक उम्मेदवार, रोजिना प्रधान राईले बुधबार राति एक पत्रकार सम्मेलन गरी झन्डै एक हजार मत फर्जी परेको दाबी गरेकी थिइन् ।एनआरएन युकेका ११ हजार बढी मतदातामध्ये कतिले मत खसाले भन्ने निर्वाचन समितिले खुलासा गरेन तर दुई हजार १०० मत अस्वभाविक रुपमा खसेको बताउँदै आएको थियो ।

शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरी गाहा मगरले जस्ताको तस्तै निर्वाचन परिणाम घोषणा गर्न माग गरेका थिए। रासस

कमेन्टहरु