अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं : एमाले प्रवक्ता प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने बताएका छन् ।
माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण र अधिवेशन लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधिहरु तत्काल रोक्न आग्रह गरेको छ ।
तर अध्यक्ष केपी ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल सुरु गर्न थालेको छ । ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्णय त्यसअघि नै गरिसकेको थियो । आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवालीले बताए ।
उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन् । तर छलफलका नाममा अनन्तकालसम्म पार्टीको कामलाई रोक्न सक्दैनौं ।’
स्थानीय चुनावका साथै महाधिवेशन नजिकै आइसकेको, सत्ता पक्ष आक्रामक ढंगले आएको र जनविरोधी क्रियाकलाप गर्न थालेको भन्दै ज्ञवालीले प्रमुख प्रतिपक्षी पार्टी चाहिं हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने एमालेको हितमा नभएको बताए ।






















