ग्रेट वालमा यस यामकाे पहिलो हिमपात


चीन । उत्तरी चीनमा चलेको चिसो हावाको लहरले व्यापक तापक्रम गिरावट ल्याएपछि तियानजिनको जिझोउ जिल्लामा अवस्थित विश्वप्रसिद्ध ग्रेट वालमा यस जाडो मौसमको पहिलो हिमपात भएको छ ।हिउँले ढाकिएको ग्रेट वालको दृश्य अत्यन्त मनमोहक बनेको छ । जसले पर्यटकहरूलाई जाडोको सुन्दरतामा रम्ने अवसर प्रदान गरेको छ । चीनको मौसम विभागकाअनुसार हालैको चिसो लहरले उत्तरी क्षेत्रमा तापक्रमलाई ह्वात्तै घटाएको छ ।
यसले गर्दा जिझोउ जिल्लास्थित हुआंग्यागुआन खण्डको ग्रेट वाल सेतो हिउँको पत्रले ढाकिएको छ । यो दृश्यले ग्रेट वालको ऐतिहासिक भव्यतालाई थप आकर्षक बनाएको छ । जाडोमा हिउँ परेको ग्रेट वाल हेर्न विश्वभरका पर्यटकहरू आकर्षित हुने गरेका छन् ।
हिउँले ढाकिएका अग्ला टावरहरू र घुमाउरो पर्खालहरूले परी कथाजस्तो वातावरण सिर्जना गर्छ । यद्यपि चिसो र हिउँले बाटो चिप्लो बनाउने भएकाले पर्यटकहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।
गत वर्षहरूमा पनि जिझोउ क्षेत्रमा जाडोको शुरुवातमै हिउँ पर्ने गरेको छ । जसले स्थानीय पर्यटनलाई बढावा दिन्छ । यस वर्षको पहिलो हिमपातले जाडो पर्यटन सिजनको शुभारम्भ गरेको छ ।























