खानेपानी संस्थान धनगढीले दुई करोड ३१ लाख बक्यौता उठाउन बाँकी


कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दुई करोड बढी रहेको छ ।कार्यालयका लेखा शाखा प्रमुख पङ्कजकुमार दासका अनुसार विगत लामो समयदेखि आर्थिक वर्ष २०८१/८२ सम्म निजी र सार्वजनिक ग्राहकबाट उठाउन बाँकी रहेको रकम रु दुई करोड ३१ लाख २४ हजार २५० रहेको छ ।
निजी ९८५ र सरकारी ४४ गरी एक हजार २९ खानेपानीको सेवा लिएका ग्राहकबाट सो बक्यौता रकम उठाउँन बाँकी रहेको लेखा शाखा प्रमुख दासले बताए ।त्यसमध्ये सरकारी कार्यालयबाट उठाउन बाँकी रकम रु ३२ लाख रहेको छ । खानेपानी संस्थान धनगढीले धनगढी उपमहानगरपालिकाभित्रका वडा नम्बर १, २, ३ ,४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४, १७ र १९ मा आफ्नो सेवा विस्तार गरी खानेपानी वितरण गर्दै आएको छ । केही वडामा भने चालु आर्थिक वर्षबाट खानेपानी वितरणको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।


















