गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै


भोजपुर, मंसिर २५ । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।
पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको उहाँले बताउनुभयो । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको उहाँको भनाइ छ । “पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।” उहाँले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने बताउनुभयो ।
स्थानीयका अनुसार पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ । प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको भनाइ छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् । परम्परागत सीप र पहिचान जोगाउन ,पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।























