विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन्


काठमाडौं । गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका बेला भएको सुरक्षा कारबाहीमा करिब १४ सय नागरिक मारिएका थिए । तर, धेरैको शव अझै अज्ञात छ ।
अहिले अज्ञात शवको पहिचानका लागि ढाकाको एक सामूहिक चिहान उत्खनन् गर्ने काम सुरु भएको एएफपीले जनाएको छ ।
बंगलादेशी प्रहरीले राजधानी ढाकाको रायरबाजार क्षेत्रमा रहेको सामूहिक चिहान खन्न सुरुआत गरेको छ । समाचार अनुसार, उक्त चिहानमा ११४ वटा अज्ञात शव गाडिएको अनुमान गरिएको छ ।
प्रहरी अनुसन्धान विभाग (सीआईडी)का प्रमुख मुहम्मद सिबगतउल्लाहले मिडियालाई जानकारी दिंदै सामूहिक चिहानमा करिब ११४ शव हुनसक्ने अनुमान गरिए पनि ठिक संख्या चिहान खन्ने काम पूरा भएपछि मात्र थाहा हुने भनेका छन् ।
प्रशासनले चिहानबाट निकालिएका शवहरूको पहिचान भएपछि तिनीहरूको धार्मिक मान्यता र परिवारको इच्छा अनुसार अन्त्येष्टि गरिने बताएको छ ।
जुलाई–अगस्ट २०२४ मा शवहरू गाडिएको थियो
समाचार अनुसार शव उत्खनन् कार्य संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त छ । यो काम अर्जेन्टिनाका फोरेन्सिक नृविज्ञ शास्त्री लुइस फौन्डेब्रिडरको रेखदेखमा भइरहेको छ । उनले सामूहिक चिहानहरूबाट शवहरू निकालेर तिनीहरूको पहिचान गर्ने धेरै अभियानहरूको नेतृत्व गरिसकेका छन् ।
समाचार संस्था एएफपीको अनुसार अन्जुमन मुफिदुल इस्लाम नामको एक स्वयंसेवी समूहले रायरबाजार कब्रिस्तानमा यी शवहरू गाडेको थियो ।
समूहले जुलाई २०२४ मा ८० र अगस्तट २०२४ मा ३४ लावारिस शवहरू यहाँ गाडेको दाबी गरेको छ । यी सबै व्यक्तिहरू बंगलादेशमा भएको हिंसक प्रदर्शनको बेला मारिएका थिए ।
गत महिना मानवताविरुद्धको अपराधको मुद्दामा शेख हसिनालाई सुनाइएको सजायमा यी मृत्युका संख्याहरू पनि उल्लेख छन् ।
‘हामीले उसलाई हरेक ठाउँमा खोज्यौं’
प्रदर्शनको बेला भएको हिंसापछि अहिलेसम्म पनि धेरै मानिसहरू बेपत्ता भएको बताइएको छ । परिवारका सदस्यहरू आजभोलि पनि जवाफ खोजिरहेका छन् । तीमध्ये एक हुन् मुहम्मद नबिल, जो आफ्नो दाइ सोहेल राणाको अवशेष खोजिरहेका छन् । २८ वर्षीय सोहेल जुलाई २०२४ मा बेपत्ता भएका थिए ।
नबिलले उसलाई हरेक ठाउँमा खोजे पनि नभेटेको एएफपीलाई बताए । नबिलले एक फेसबुक भिडियो हेरेपछि पहिलो पटक सोहेल मारिएको आशंका गरेको बताए । त्यसपछि अज्ञात शवहरू गाड्ने स्वयंसेवीहरूको खिचिएको तस्बिरमा निलो टी–सर्ट र कालो प्याइन्ट देखेपछि उनले आफ्नो दाइको लुगाको पहचान गरेका थिए ।
स्थानीय मिडियाको अनुसार, अहिलेसम्म १० परिवारहरूले पहिचानको लागि आवेदन गरिसकेका छन् ।
सामूहिक चिहानबाट शवहरू निकालेर तिनीहरूको पोस्टमार्टम र डीएनए परीक्षण गरिनेछ । यो प्रक्रियामा धेरै हप्ता लाग्नसक्ने बताइएको छ । यस कामको प्राविधिक विवरण दिँदै वरिष्ठ प्रहरी अधिकारी अबु तालेबले भने, “एक वर्षभन्दा बढी समय बितिसकेको छ, यस्तो अवस्थामा नरम टिस्युबाट डीएनए लिन सकिन्न । हड्डीहरूको मद्दतले यो काममा समय लाग्नेछ ।”
ढाकाका चारवटा मेडिकल कलेजका फोरेन्सिक विज्ञहरू यो टोलीको हिस्सा छन् । संयुक्त राष्ट्रसंघसँगको सहयोगमार्फत लुइस फौन्डेब्रिडरलाई सहयोगको लागि बोलाइएको छ । उनले पत्रकारहरूलाई भने, “यो प्रक्रिया जटिल र अनौठो छ । हामीले अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गरिएको सुनिश्चित गर्नेछौँ ।”
फौन्डेब्रिडरले सन् १९८४ मा गठित अर्जेन्टिना फोरेन्सिक विज्ञ टोलीको नेतृत्व गरिसकेका छन् । १९७०–८० को दशकमा सैन्य तानाशाहीको बेला बेपत्ता भएका हजारौँ मानिसहरूको मामलाको अनुसन्धानको लागि यो टोली गठन गरिएको थियो । डनबाट ।























