शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन विकास गर्ने लक्ष्यलाई अघि सार्दै पाँचवर्षे शिक्षा योजना तर्जुमा प्रक्रिया अगाडी बढाएको छ ।
नगरपालिकाको सामाजिक विकास समितिका संयोजक रमेशबहादुर ऐरलाई पाँचवर्षे शिक्षा योजनातर्जुमा समितिको संयोजकमा नियुक्त गरिएको छ ।
नगरका सबै विद्यालयमा समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चितता, विद्यार्थीमैत्री वातावरण, आइसिटिमा–आधारित सिकाइ, र शिक्षकको क्षमता अभिवृद्धि, कमजोर विद्यालय पहिचान गरी सुधारका कार्यक्रम, बालविकासदेखि माध्यमिक तहसम्म शैक्षिक पूर्वाधारको नक्शाङ्कनको कार्य अगाडि बढाइने उनले उल्लेख गरे ।
“योसँगै छात्रवृत्ति, पोषण, विशेष शिक्षा तथा समावेशी शिक्षातर्फ लक्षित कार्यक्रम र विद्यालय व्यवस्थापन समितिको भूमिकालाई सशक्त बनाउन कार्ययोजना तर्जुमाको कार्य गर्छौं”, उनले भने ।
संयोजक ऐरका अनुसार पाँचवर्षे शिक्षा योजनाले नगर शिक्षाको भविष्यको मार्गचित्र तय गर्नेछ । “शिक्षा क्षेत्रमा देखिएका कमजोरी, समग्र आवश्यकता र स्थानीय आवाजलाई प्राथमिकतामा राखेर दीर्घकालीन, व्यावहारिक तथा प्रगतिमुखी योजना बनाउने लक्ष्य लिएका छौँ”, उनले भने।























