चीनको व्यापार सरप्लस एक ट्रिलियन डलर नाघ्यो


काठमाडौं । चीनको वार्षिक वस्तु व्यापार सरप्लस पहिलोपटक एक ट्रिलियन डलर नाघेको नयाँ तथ्यांकले देखाएको छ । ट्यारिफ युद्धका कारण अमेरिकामा निर्यातमा भारी गिरावट आए पनि वैकल्पिक बजारहरूमा गरिएको ढुवानीले त्यसको क्षतिभन्दा बढी प्रतिफल दिएको अलजजिराले जनाएको छ ।
सोमबार चीनको जनरल एडमिनिस्ट्रेसन अफ कस्टम्सले जारी गरेको तथ्यांकअनुसार, वर्षका पहिलो ११ महिनामा व्यापार सरप्लस नोभेम्बरसम्म १.०८ ट्रिलियन डलर पुगेको हो । उक्त महिनामा निर्यात वार्षिक रूपमा ५.९ प्रतिशतले बढेको थियो, जबकि अघिल्लो महिनामा यसमा १.१ प्रतिशतको गिरावट आएको थियो ।
तथ्यांकअनुसार, अमेरिकामा निर्यात निरन्तर खस्किँदै जाँदा पनि यो उछाल आएको हो । गत महिना अमेरिकामा निर्यात २८.६ प्रतिशतले घटेर ४३३.८ अर्ब डलरमा सीमित भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका क्रममा बेइजिङ र वासिंगटन ट्यारिफसम्बन्धी कठोर व्यापार युद्धमा फसेका थिए । यसले चिनियाँ निर्यातकर्ताहरूलाई अन्य बजारतर्फ मोडिन बाध्य बनायो । यद्यपि, विश्वका दुई ठूला अर्थतन्त्रका नेताहरूले अक्टोबरमा दक्षिण कोरियामा भएको भेटघाटमा प्रतिस्पर्धालाई केही हदसम्म विराम दिन सहमति जनाएका थिए ।
क्यापिटल इकोनोमिक्सका जिचुन हुआंगले एक नोटमा लेखेका छन्, “चीनको यस वर्षको व्यापार अधिशेषले गत वर्षको स्तरलाई पार गरिसकेको छ, र हामीलाई अर्को वर्ष यो अझ बढ्ने अपेक्षा छ ।”
हुआंगका अनुसार, अमेरिकामा निर्यात कमजोर भए पनि अन्य बजारहरूमा भएको ढुवानीले त्यसको क्षतिपूर्तिभन्दा बढी योगदान दिएको छ ।
उनले व्यापार मार्ग परिवर्तन र चिनियाँ वस्तुहरूको बढ्दो मूल्य–प्रतिस्पर्धाका कारण निर्यात लचिलो रहने सम्भावना रहेको बताए, किनकि मुद्रास्फीतिमा आएको कमीले चीनको वास्तविक प्रभावकारी विनिमय दरलाई तल धकेलिरहेको छ ।
फ्रान्सको चेतावनी
निर्यात क्षेत्र ऋण संकट र सुस्त घरेलु खर्चसँग जुधिरहेको चीनको अर्थतन्त्रका लागि निर्यात महत्त्वपूर्ण आधार बनेको छ, जसले समग्र आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिएको छ ।
तर, चीनको बढ्दो व्यापार सरप्लसले प्रमुख पश्चिमी व्यापारिक साझेदारहरूलाई चिन्तित पनि बनाएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन यस असन्तुलन सम्बोधन नगरिए कारबाहीको चेतावनी दिने पछिल्ला नेता हुन् ।
चीनको राजकीय भ्रमणबाट फर्किएपछि म्याक्रोनले आइतबार फ्रान्सेली अखबार लेस इकोससँगको अन्तर्वार्तामा यदि आगामी महिनाहरूमा अधिशेष घटाइएन भने युरोपले पनि बेइजिङमाथि महसुल लगाउने विषयमा अमेरिकाको बाटो पछ्याउन सक्ने चेतावनी दिएका छन् ।
गत महिना युरोपेली संघमा चीनको निर्यात वार्षिक रूपमा १४.८ प्रतिशतले बढेको थियो । यसैबीच, द्रुत गतिमा बढिरहेका दक्षिणपूर्वी एसियाली अर्थतन्त्रहरूले सोही अवधिमा ८.२ प्रतिशत बढी चिनियाँ वस्तु आयात गरेका थिए ।
यस अवस्थाले नोभेम्बरमा चीनको व्यापार अधिशेष ४१११.६८ अर्ब डलर पुर्याएको छ, जुन अघिल्लो महिनाको ४९०.०७ अर्ब डलरको तुलनामा उल्लेखनीय रूपमा बढी हो र ४१००.२ अर्ब डलरको पूर्वानुमानभन्दा माथि पर्छ । यो जुनपछि सबैभन्दा उच्च सरप्लस हो ।
पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेई झाङले एक नोटमा नोभेम्बरमा निर्यात वृद्धिमा आएको सुधारले सुस्त घरेलु मागको असर कम गर्न मद्दत गरेको उल्लेख गरेका छन्, किनकि निर्यात क्षेत्रको कमजोरीका कारण समग्र आर्थिक गतिविधि सुस्त हुँदै गएको छ ।
चीनको कमजोर घरेलु उपभोगको संकेतका रूपमा, नयाँ भन्सार तथ्यांकले नोभेम्बरमा आयात वार्षिक रूपमा केवल १.९ प्रतिशतले मात्र बढेको देखाएको छ, जुन अनुमानभन्दा कम हो ।























