कपिलवस्तुको विजयनगरमा बृहत रक्तदान, १ सय ४० जनाले दिए रगत

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका-६ बद्धाैरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा साेमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा उत्साहपुर्वक सहभागिता जनाउँदै १ सय ४० जना रक्तदाताले रगतदान गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीकाे आयाेजना, विजयनगर गाउँपालिकाकाे सहयोग र नेपाल रेडक्रस साेसाइटी बुटवलकाे प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम भएको हाे । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले यस वर्ष पनि दाेस्राे बृहत रक्तदान कार्यक्रममार्फत उल्लेखनीय रगत संकलन गर्न सफल भएको छ ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले संकलित रगतले रक्त अभावलाई सहयोग पुग्ने बताए । राष्ट्रिय युवा संघले प्रशंसनीय कार्य गरेकाे भन्दै रक्तदातालाई उनले धन्यवाद व्यक्त गरे ।
यसैेगरी राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष ताैलेश्वर खटिकले युवाहरूले समाज सेवामा सक्रिय हुनुपर्छ भन्ने सन्देश सहित आम नागरिकमा सेवाभावकाे जागरूकता देखिएकाे बताउँदै रक्तदातालाई धन्यवाद दिए ।
रक्तदान कार्यक्रमले मानवताको भावना जागृत गर्नुकाे साथै समुदायभित्र सहयोग र एकता भावनाकाे विकासमा टेवा पुर्याउने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका अध्यक्ष तिलक गिरीले बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, समाजसेवी नेत्रराज अधिकारी, थर्क बहादुर खन्गाहा, गाेकर्ण प्रसाद सापकोटा लगायतकाे सहभागिता थियोे ।























