अपराध

चार महिने शिशुको हत्या गर्ने प्रहरी पक्राउ, श्रीमती पनि घाइते

नवलपुर टुडे
२०८२ मंसिर २२ | बिहान ०९:०८ बजे

काठमाडौँ । चार महिने आफ्नै शिशु (छोरा) को हत्या आरोपमा पक्राउ परेका प्रहरी अधिकारीको परिचय खुलेको छ। प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुरमा भट्टराईकाअनुसार आइतबार साँझ ४ बजेतिर चार महिने शिशुको हत्या गर्ने प्रहरी अधिकारी पुष्कर कार्की रहेका छन्।

कार्कीले चार महिने शिशुको आफू बस्दै आएको काठमाडौँको सिनामंगलस्थित कोठामा हत्या गरेको प्रवक्ता भट्टराईले जानकारी दिए। उनी त्रिभुवन विमानस्थलमा प्रहरी सहायक निरीक्षक (असई)का रुपमा कार्यरत रहेका थिए। उनको घर डोटी जिल्लामा हाे। रोजगारी गर्दै काठमाडौँमा बसेका असई कार्कीले शिशुको हत्या गर्नुका कारणबारे प्रहरीले खुलाएको छैन।

हाल कार्की काठमाडौँ प्रहरी परिसरमा थुनामा राखिएको छ। सोमबार आज उनलाई अदालत उपस्थित गराउने तयारी गरिएको प्रवक्ता भट्टराईले बताए।

चार महिने शिशुको हत्या आरोपमा पक्राउ परेका कार्कीले श्रीमतीमाथि पनि कुटपिट गरेका थिए। उनको श्रीमती पनि प्रहरी अधिकारी नै हुन्।कार्कीको कुटपिटबाट श्रीमती घाइते भएकी छिन्। उनको काठमाडौँ केएमसी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर नरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए।

श्रीमती पनि त्रिभुवन विमानस्थलमै प्रहरी जवान पदमा कार्यरत रहेकी थिइन्।

कमेन्टहरु