अपराध

ग्रीसमा ४४ नेपाली युवालाई बन्धक बनाएर जबरजस्ती श्रम शोषण

नवलपुर टुडे
२०८२ मंसिर २२ | बिहान ०८:०८ बजे

काठमाडौं । ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गराउने प्रलोभनमा परेका ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ । ‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत नेपालीहरूलाई आकर्षक तलब, आवास र कानुनी कागजातको लोभ देखाएर लाकोनिया, स्काला पु¥याएका थिए । तर, उनीलगायतको समूहले भने ती नेपाली युवाहरूलाई कुनै सुविधा नदिई उल्टै बिनातलब बन्धक बनाएर काममा लगाएका थिए ।

नियोचोरी पुगेपछि उनीहरूलाई गोदाममै थुनी बाहिर जान नदिने, ट्रक–कारमार्फत खेतमा लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरिएको खुलेको छ । ती तस्करहरूले नेपाली युवाहरूका यात्रा कागजात खोसिएर १,५०० युरो तिर्नुपर्ने धम्की पनि दिँदै काममा लगाएका थिए ।नोभेम्बर २६ मा मानव बेचबिखनविरुद्धको हटलाइन ११०९ मा परेको सूचनापछि प्रहरीद्वारा गरिएको खोजतलासमा सबै नेपालीहरू गोदाममै फेला परे । घटनामा ४४ वर्षीय ग्रीक नागरिक संलग्न रहेको पाइएको छ भने दुई ट्रक र एक कार पनि बरामद गरिएको छ । एउटै कारका मालिक २८ वर्षीय पाकिस्तानीविरुद्ध समेत कानुनी प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

कमेन्टहरु