देश

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छः मन्त्री गौतम

रासस
२०८२ मंसिर २१ | मध्यान्ह ०४:०८ बजे

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन् । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताइन् । 

 
 
 

मन्त्री गौतमले भनिन्, “ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसइई पछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ ।” अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले उल्लेख गरिन् । अहिले मन्त्रालयले विषयगत रूपमा सात वटा विषयमा सुधार गर्नेगरी काम गरेको उनले बताइन् ।

मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी दिइन्। सुधारका क्षेत्रमा स्वास्थ्य बिमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनले बताइन् । 

कमेन्टहरु