समाचार

महोत्तरीको बर्दिबास चुरे क्षेत्रमा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना, संरक्षणमा चासो बढ्यो

रासस
२०८२ मंसिर २१ | बिहान ०६:०८ बजे

महोत्तरी । महोत्तरीको पूर्वपश्चिम लम्बाइमा फैलिएको चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रको प्राकृतिक पर्यावरण संरक्षण र संवर्द्धनबारे चासो बढेको छ। ३० किलोमिटरभन्दा बढी लम्बाइको यस नगर क्षेत्रमा धार्मिक, पुरातात्विक, ऐतिहासिक र प्राकृतिक सम्पदाको भण्डार रहेको अवलोकनकर्ताहरूले बताएका छन्।

बर्दिबास–३ राइमण्डलस्थित गिद्ध बासस्थानको अवलोकनपछि चरा संरक्षण नेपालका प्रतिनिधि ईश्वरी चौधरीले बर्दिबासको चुरे क्षेत्र प्राकृतिक पर्यटनको भण्डार रहेको बताए। उनले राइमण्डलडाँडाको गिद्ध बासस्थान संरक्षणका लागि मुख्यतया आहाराको व्यवस्थापनमा जुट्न नगरपालिकालाई सुझाव दिए। राइमण्डलडाँडाको गिद्धबास, मध्य पाषाण युगकालीन हतियार कारखाना, सोलीघोप्टेडाँडाको जडीबुटी भण्डार, सुन्तला/जुनार फल्ने चनौटेडाँडा र यहाँका प्राचीन धार्मिकस्थलहरू पर्यटकीय विकासका लागि महत्वपूर्ण आधार रहेको अवलोकनकर्ताको भनाइ छ।

धनुषाको कल्चर भिलेज संस्थाका संस्थापक देवनारायण मण्डलले बर्दिबासको चुरे क्षेत्रमा लोपोन्मुख गिद्धसहित अनेकौँ चराचुरुङ्गी र बाघ, हरिन, मृग, घोरल, नीलगाई र बँदेलजस्ता वन्यजन्तुको बाक्लो बासस्थान रहेको बताए। उनले पुरातात्विक महत्वका हतियार कारखानाका अवशेष र महाभारतकालीन जनश्रुतिका धार्मिकस्थललाई पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्नेमा जोड दिए।

नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना पहिल्याउन र योजनाबद्ध काम अघि बढाउन नगरपालिकाले संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेको छ। समितिका अध्यक्ष हीरालाल गौतमले पुरातत्वविद्बाट मध्य पाषाण युगकालीन हतियार कारखानाको प्रारम्भिक अन्वेषण सम्पन्न भइसकेको र यहाँ १० हजार वर्ष पहिलेको ढुङ्गे हतियार बन्ने ठाउँ रहेको निष्कर्ष आएको बताए।

गिद्ध संरक्षण तथा पर्या पर्यावरण प्रवर्द्धन उपसमितिका संयोजक विशाल बस्नेतले गिद्धको आहाराको दिगो व्यवस्थापनका लागि समुदायसँग छलफल भइरहेको र छिट्टै काम अघि बढाउने तयारीमा रहेको जानकारी दिए। दुई वर्षअघि बर्दिबास उद्योग वाणिज्य सङ्घको नेतृत्वमा भएका चुरे पदयात्राले राइमण्डलडाँडामा गिद्धको समूह देखेदेखि नै यस क्षेत्रमा चासो बढेको थियो। स्थानीय बासिन्दाहरूले अब तीनै तहका सरकारले योजनाबद्ध रूपमा पर्यटन विकासको काम अघि बढाउनुपर्ने माग गरेका छन्।

 

कमेन्टहरु