विचार/ब्लग

परिवर्तित सन्दर्भमा रास्वपा लगायत नयां दलको भूमिका

भोजराज पाण्डेय
२०८२ मंसिर २० | बिहान ०६:०८ बजे

नेपाल बहुदलीय र वहुलबादमा आधारित लोकतान्त्रिक मुलुक भएकोले संबिधान र संबिधानमा लेखिएका मुलभुत सिद्धान्तहरुको परिधि भन्दा बाहिर जाने छुट कसैलाई छैन् । समयको परिवर्तित सन्दर्भमा नयां राजनीतिक दलहरूको उदय हुनु लाई एक निरन्तर प्रक्रिया र आबस्यक्ताको रुपमा बुझ्नु पर्ने हुन्छ । सामाजिक परिवर्तन, राजनीतिक असन्तोष, आर्थिक वैषम्य, अस्थिरता र नेतृत्वप्रति नागरिकको असन्तुष्टि जस्ता कारणहरूले गर्दा नागरिकको नयाँ दल प्रति आकर्षण बढ्नु र त्यसको नेतृत्वमा नया युवा पंक्ति आकर्षित हुनुलाई सहज लिनु पर्ने हुन्छ । नेपालमा समय–समयमा उदाएका नयाँ दलहरूले के–कस्ता भूमिका निर्वाह गर्छन् भन्ने प्रश्न लोकतन्त्रको गुणस्तर, जनअपेक्षा र राज्यको दीर्घकालीन मार्गचित्रसँग प्रत्यक्ष सम्बन्धित छ ।

१. वैकल्पिक नेतृत्व र विचारधाराको प्रस्तुति
पुराना दलहरूले समाधान गर्न नसकेको समस्यामा नयाँ दलहरूले समाधानको बिभिन्न बिकल्पहरु सहित वैकल्पिक सोच, नीति र कार्यक्रम ल्याउन सक्छन् । समाजमा बढ्दो राजनीतिक थकान र असन्तुष्टिलाई सम्बोधन गर्ने मौका नयाँ दलसँग हुन्छ । परम्परागत राजनीतिक संस्कृति जस्तै भागबण्डा, गुटबन्दी, र आर्थिक अस्वच्छताबाट विरक्तिएका नागरिकलाई नयाँ विकल्प दिने प्रमुख भूमिका निभाउनु अपरिहार्य हुन्छ ।

२. युवा सहभागिता र राजनीतिक पुनर्संरचना
नेपालमा जनसंख्याको ठूलो हिस्सा युवा छन्, तर निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सीमित छ । नेतृत्वमा युवा अनुहार ल्याउने, प्रविधिमैत्री अभियान चलाउने, पारदर्शितामा जोड दिने,जस्ता अभ्यास मार्फत नयाँ प्रकारको राजनीतिक संस्कृति निर्माण गर्ने प्रयास गर्नु पर्दछ ।

३. सुशासन र पारदर्शिता माथिको जोड
नयाँ दलहरूको प्रमुख आकर्षण सुशासन, जवाफदेहिता, भ्रष्टाचारविरुद्ध कडा नीति र पारदर्शिता हो। यसको लागि बजेट, निर्णय र पार्टी वित्तको डिजिटल प्रकटीकरण, उम्मेदवार छनोटमा खुला प्रतिस्पर्धा, स्थानीय तहदेखि संघीय तहसम्म नीति कार्यान्वयनको निगरानी, जस्ता अभ्यासले सुशासनप्रति नागरिकको विश्वास पुनःस्थापित गर्ने सम्भावना बनाउँछ । नागरिकको अपेक्षा नै शुशासन हो । यो केबल नयां दलबाट मात्र सम्भव छ ।

४. स्थानीय मुद्दा र नागरिक–केन्द्रित राजनीति
नयाँ दलहरूले स्थानीय मुद्दालाई केन्द्रविन्दु बनाउनु पर्दछ । जस्तै शिक्षा, स्वास्थ्य, यातायात, सस्तो नागरिक सेवा, वातावरण संरक्षण आदि । जनताको दैनन्दिन समस्या प्रत्यक्ष रुपमा सम्बोधन गर्न सक्ने, स्थानीय नेतृत्वलाई सशक्त बनाउने, जनसुनुवाइ र प्रत्यक्ष सम्पर्कमा आधारित राजनीति गर्ने,यस्ता अभ्यासले नागरिक राज्य सम्बन्ध बलियो र भरोसायोग्य बन्छ ।

५. प्रतिस्पर्धा सिर्जना गर्दै पुराना दल सुधार गर्न बाध्य पार्ने
नयाँ विकल्प उदाएपछि पुराना दलहरू पुनर्जीवित हुन, कार्यशैली सुधार्न र जनतामा प्रासंगिक रहन अधिक उत्तरदायी बन्न बाध्य हुन्छन् । जसले नेतृत्व परिवर्तन, नीति अद्यावधिक, संगठनात्मक सुधार,जस्ता कामहरूमा नयाँ दलले प्रतिस्पर्धात्मक दबाब सिर्जना गर्न सकेमा पुराना दलहरु पनि नागरिक प्रति उत्तरदायी हुन बाध्य हुन्छन् र तत् अनुरुपको नीति निर्माणमा आफूलाई परिष्कृत गराउंदै लैजान्छन् ।

६. राजनीतिक स्थिरतामा चुनौती र अवसर
नयाँ दलको उदयले सकारात्मक परिवर्तनका अवसर ल्याउँछ, तर धेरै दलहरूको संख्या बढ्दा नीति र सिद्धान्तमा एकरुपता हुने हुंदा नागरिकलाई बिश्वास गर्न कठिन हुन्छ । गठबन्धन राजनीतिमा अस्थिरता बिजारोपण हुने हुंदा यसबाट सजग हुनु पर्दछ । अनुभव अभावले प्रशासनिक कार्यान्वयनमा चुनौती आउन सक्छ । जब नयाँ दलहरू संस्थागत क्षमता विकास गर्न सफल हुन्छन्, उनीहरूले दीर्घकालीन स्थिर विकासमा योगदान पुर्याउन सक्छन् ।

७. सामाजिक समावेशिता र नयाँ राजनीतिक अनुहार
नेपालको जातीय, भाषिक, भौगोलिक विविधता राजनीतिक प्रतिनिधित्वमा अझै पर्याप्तरूपमा नआएको अनुभूति भइरहन्छ । नयाँ दलहरूले महिला, दलित, जनजाति, मधेशी र पिछडिएको वर्गका नागरिकलाई अनुपातिक रूपमा नेतृत्वमा ल्याउन सक्ने ठोस अवसर प्रदान गर्न सक्नु पर्दछ । आधुनिक शासनका धारणा, डिजिटल सरकार, खुला डेटा, परिणाममा आधारित नीति, स्रोत व्यवस्थापनमा वैज्ञानिकता जस्ता अवधारणा अघि सार्नु उपयुक्त हुन्छ । यसले नेपाललाई भविष्यमुखी राजनीतिक मार्गमा उन्मुख गराउन सक्छ । नेपालमा नयाँ राजनीतिक दलहरूको भूमिका बहुआयामिक र परिवर्तनकारी हुन सक्छ । उनीहरूले नागरिकलाई विकल्प मात्र दिँदैनन्, बरु पुरानो संरचनालाई चुनौती दिँदै नयाँ सोच, नयाँ नेतृत्व, पारदर्शिता, सुशासन र युवा सहभागितालाई मजबुत बनाउने अवसर सिर्जना गर्छन् । यद्यपि संस्थागत क्षमता, राजनीतिक जिम्मेवारी, नीति–निरन्तरता र राष्ट्रिय हितप्रति प्रतिबद्धता जस्ता चुनौतीहरू रहेको सन्दर्भमा आफूलाई समय सापेक्ष अभ्यस्त बनाउदै नागरिक प्रति उत्तरदायी हुन सक्नु पर्दछ । दलहरुको संख्या अधिक हुंदा नागरिक दुबिधामा पर्ने भएकोले नयां सोंच, बिचार र सिद्धान्त भएका दलहरु बीचमा तत्काल सहकार्य हुन जरुरी छ । नेपालको सन्दर्भमा सबैलाई नेता हुने हुटहुटी देखिन्छ । यसले नागरिकको समस्यालाई समाधान गर्दैन । स्पष्ट दिशा निर्देश सहितको राजनैतिक दलप्रतिको आबद्धता र सहकार्यले पुराना दलहरुलाई बिस्थापित गर्न सकिन्छ । अन्यथा पछुताउनु बाहेक हामी संग अरु बिकल्प बांकि रहंदैन् ।

कमेन्टहरु