देश

तारा श्रीष मगर : गजल रेष्टुरेष्टबाट घन्किएको आवाज

जगत ठाडा मगर
२०७८ साउन २२ | मध्यान्ह ०२:०४ बजे

काठमाडौ । कस्तो रमाइलो, विद्यालयमा गृहकार्य नगरेको बखत वा केही गल्ती–कमजोरी हुँदा उनलाई सजाय हुन्थ्यो, गीत गाउने । अर्थात तारा श्रीष मगरले सजाय भुक्तान गर्न गीत गाउनुपर्ने । यस्तो सजाय नै उनको जीवनको धुन बनिदियो । उनी स्वर खिपेर गाउन थालिन् । तर, छोरी यसरी गीत–संगीतमा लहसिएको कुराले आमाबुवा खिन्न थिए । आखिर कुन गरिब आमाबुवा मञ्जुर हुन्छन् छोराछोरी गिताङ्गे बनेर बरालिएको ?

photo 2021 08 06 13 59 15

गुजाराका लागि बुवा वैदेशिक रोजगारीमा थिए । उनका साथी–संगतीहरुले सुनाइदिएछन्, ‘तिम्रो छोरी त असाध्यै राम्रो भाका हालेर गाउँछिन् ।’ अब पो बुवाको मन पग्लियो । उनले छोरीलाई हौसला दिए । तर, बुवालाई अचानक पक्षघात भएर थलिए । परिवारको आड–भरोसा नै ओछ्यान परेपछि परिवारको बेहाल हुने नै भयो । ताराको अघिल्तिर दुःख र कष्टको चाङ थुप्रियो । रोगी बुवा स्यहार्नुपर्ने, भाइहरुको पालनपोषण गर्नुपर्ने, घरको चुल्हो बाल्नुपर्ने ।

यतिबेलासम्म उनको परिवार बागलुङ, छिस्तीबाट पोखरा सरिसकेको थियो । पोखरामा उनीहरु भाडाको कोठामा बसेर गुजारा चलाइरहेका थिए । सो बखत तारा १४ बर्षकी थिइन् । ९ कक्षामा पढ्दै थिइन् । आयआर्जनका लागि काम गर्नैैपर्ने बाध्यता भयो । जानेको काम त्यही हो, गीत गाउने । पोखराका रात्रिकालिन बार, गजल रेष्टुरेन्टहरुमा गाउन थालिन् ।

विद्यालयबाट फर्केपछि भाईहरुलाई खाजा, नास्ता खुवायो । अनि दौडियो कामतिर । घर फर्कदा झन्डै मध्यरात भइसक्ने । छोरी मान्छे हुनुको पीडा ! छिमेकीहरु उनीमाथि शंकाको दृष्टि विच्छ्यउथे । ‘निकै गाह्रो भयो’ तारा ति दिनहरु सम्झिन्छिन्, ‘विद्यालयबाट फर्किएपछि साथीहरु खेल्न निस्कन्थे । म खाजा बनाएर भाईहरुलाई खुवाएर काममा निस्किनुपथ्यो । कामबाट फर्किँदा राति ११ बजिसक्थ्यो । छरछिमेकले राम्रो नजरले हेरिदिँदैनथे ।’

photo 2021 08 06 13 59 12

नेपाल टेलिभिजनबाट ‘भ्वाइस अफ टिन’ नामक सांगीतिक रियालिटी शो प्रशारणको तयारी थियो । पोष्टरहरु पोखराका भित्ताहरुमा टाँसिएको थियो । तारालाई सहभागी हुने रहर जाग्यो । परिवार, साथीभाईले सहभागी हुन सुझाव दिए । तारा त्यसमा भाग लिन काठमाडौं आएकी थिइन् । तर, उत्कृष्ट २५ बाट अगाडि आउन सकिनन् ।

सोही समयदेखि आफू गायिका बन्छु भन्ने अठोट लिएको तारा सुनाउँछिन् । त्यसमा अगाडि आउन नसकेपनि उनले हरेश खाइनन् । पोखरामा लोकप्रिय गायन रियालिटी शो ‘बीग आइकन’मा भाग लिइन् । त्यसमा तारा उत्कृष्ट ४ मा पुग्न सफल भइन् । सोही समय अमित गुरुङको शब्द, संगीतमा ‘फुल सम्झे फूल तिमी’बोलको गीत गाउने अवसर पाएकी थिइन्

photo 2021 08 06 13 59 14

गजल रेष्टुरेन्ट, डान्सबारहरुमा गाउने, रियालिटी शोहरुमा भाग लिने, पढाईलाई निरन्तरता दिने क्रम चलिरहेको थियो । छोरीको संगीतप्रतिको लगाव र गायकीलाई बुवाले बुझिसकेका थिए । प्यारालाइसिसबाट थलिएका बुवाले एकदिन छोरीलाई भने, ‘संगीतमा राम्रो गर्ने हो भने पोखरामा बसेर हुँदैन । ठाउँमै गएर संघर्ष गर्नुपर्छ ।’ अनि संगीतमा राम्रो गर्ने संकल्प बोकेर तारा २०७१ सालमा काठमाडौं आइन् । गामबेसी दोहोरी साँझ, त्यहाँ मोर्डन सिंगरका रुपमा काम सुरु गरिन् । सुख–दुःख दैनिकी चलिरहेको थियो ।

एकदिन ग्राहकका रुपमा मालिंगो गजल एण्ड वारमा पुगेकी थिइन् । सो निकै चलेको गजल एण्ड वार थियो । उनी आफूले ‘रिक्वेट’ गरेर एउटा गीत गुनगुनाइन् । ‘त्यहाँ मेरो स्वर मन परेपछि कामको अफर गर्नुभयो’ उनी भन्छिन्, ‘त्यसपछि आर्थिक रुपमा केही सहज हुँदै गयो ।’ त्यहाँबाट आफुले संगीतसम्बन्धि धेरै ज्ञानहरु सिकेको समेत ताराले बताइन् ।

‘गाह्रो निकै थियो । अलिकति बिग्रेपनी गाली खाइन्थ्यो’ उनले अगाडि भनिन्, ‘तर त्यो गालीले गर्दा नै धेरै कुराहरु सिकेँ ।’ सोही समयमा उनले थुप्रै गीत रेकर्डिङका अवसरहरु पाइन् । ‘सर्भाइभ हुनका लागि पनि आएका गीतहरु गाएँ । तर, अधिकांश गीत लाइटमा आएनन्’ उनले सुनाइन् । चलचित्र, कौरा, सालैजो, गुरुङ, मगर भाषाका गीतहरु गरी ५ देखि ६ सयसम्म गीत रेकर्ड गराएको बताईन् । त्यसमध्ये चलचित्र ‘शिरफूल’को शीर्षगीत लगायतका केही गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।

ताराले मालिंगो गजल एण्ड वारमा झण्डै ४ वर्ष काम गरिन् । त्यसपछि सो गजल एण्ड वार बन्द भयो । अर्को गजल साँझमा काम गरिन । नाम थियो, आलिसान गजल । तीन महिनाका लागि कतार पनि पुगिन्, दोहोरी साँझमा गजल गायिकाका रुपमा । यो कोरोना महामारी आउनु केही अगाडिको कुरा थियो ।

बुवाको ईच्छा पुरा गर्न ‘भ्वाइस’मा आएँ

गजल साँझमा गाईरहेकी थिइन् । कमाई ठिकै भइईरहेको थियो । परिवारले भनेको समयमा पैसा पठाउन सक्ने भएकी थिइन् । धेरै गीत गाएपनि चिनारी बनिसकेको थिएन् । जुन कुराले उनलाई पिरोलिरहन्थ्यो ।

‘यति धेरै काम ग¥र्यौ तर आफ्नो नाम पनि हुनुपर्यो । तिमीलाई भ्वाइस अफ नेपालको स्टेजमा हेर्ने ठूलो ईच्छा छ’ एकदिन वुवाले भने । ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनमा सहभागी हुन पनि धेरैले आग्रह नगरेका होइनन् । तर, त्यतिबेला उनी आफैलाई सहभागी हुन ईच्छा लागेन् ।

तेस्रो सिजन आउने तयारी भैरहँदा बुवाले सहभागी हुन आग्रह गरे । साथीसंगीले पनि भन्थे, ‘त्यहाँ जानुपर्छ, तिमीलाई धेरै प्लस प्वाइन्ट हुन्छ । तिमीले गाएको गीतले भन्दा त्यो स्टेजले तिमीलाई माथि लैजान्छ ।’ अनि ताराले ‘भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा सहभागी हुने निधो गरिन् । डिजिटल फर्म भरिन् । प्रि–अडिसनका लागि फोन आयो । प्रि–अडिसनमा पुगेर गीत गुनगुनाइन् । ‘ब्लाइन्ड अडिसन’का लागि फोनको प्रतिक्षा गरिरहेकी थिइन् ।

आज फोन आउला, भोली आउला । धेरै दिन बित्यो तर फोन आएन् । ‘आशा मारिसकेकी थिएँ । म छनोट भइन् होला भन्ने सोँचिसकेकी थिएँ’ उनले भनिन्, ‘२० दिनभन्दा पछि फोन आयो । निकै खुसी लाग्यो ।’ ‘ब्ल्याइन्ड अडिसन’मा गाइन्, ‘तिमी नै हौ…’ । चारैजना कोचको मन जितिन । चारै कोचहरु ‘टर्न’ गरे । आँखा चिम्लिन र कोचमा राजु लामालाई रोजिन् ।

नसोँचेको चर्चा पाएँ

जब तारा ‘भ्वाइस अफ नेपाल’मा प्रस्तुत हुन थालिन् । उनले सोँचेकी थिइनन्, यात्रा यहाँसम्म आइपुग्ला भनेर । ब्याटल, नकआउट, लाइभ राउण्ड हुँदै उनी फाइनल राउण्डमा आईपुगेकी छिन् । त्यसमाथि ‘भ्वाइस अफ नेपाल’मा फाइनलमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन् । यसले उनलाई थप खुःसी मिलेको छ ।

स्रोता एव दर्शकको निकै माया पाएको तारा बताउँछिन् । ‘मैले सोँचेकी थिइन् । यतिधेरै दर्शक–स्रोताहरुले मेरो स्वरलाई मन पराउनुहुन्छ, माया गर्नुहुन्छ भनेर । भ्वाइसबाट मैले नसोँचेको नाम पाएकी छु’ उनी भन्छिन्, ‘त्यति धेरै गीत गाउँदा नपाएको चर्चा अहिले पाएँ । एकदमै खुुसी छु ।’ यस अगाडिको यात्राबारे थाहा छैन् । तर, यहाँसम्म आउन सकेकोमा निकै सन्तुष्ट छिन् तारा । सायद, त्यो भन्दा खुसी होलान, प्यारालाइसिसबाट थलिएका उनका बुवा ।

कमेन्टहरु