तारा श्रीष मगर : गजल रेष्टुरेष्टबाट घन्किएको आवाज


काठमाडौ । कस्तो रमाइलो, विद्यालयमा गृहकार्य नगरेको बखत वा केही गल्ती–कमजोरी हुँदा उनलाई सजाय हुन्थ्यो, गीत गाउने । अर्थात तारा श्रीष मगरले सजाय भुक्तान गर्न गीत गाउनुपर्ने । यस्तो सजाय नै उनको जीवनको धुन बनिदियो । उनी स्वर खिपेर गाउन थालिन् । तर, छोरी यसरी गीत–संगीतमा लहसिएको कुराले आमाबुवा खिन्न थिए । आखिर कुन गरिब आमाबुवा मञ्जुर हुन्छन् छोराछोरी गिताङ्गे बनेर बरालिएको ?

गुजाराका लागि बुवा वैदेशिक रोजगारीमा थिए । उनका साथी–संगतीहरुले सुनाइदिएछन्, ‘तिम्रो छोरी त असाध्यै राम्रो भाका हालेर गाउँछिन् ।’ अब पो बुवाको मन पग्लियो । उनले छोरीलाई हौसला दिए । तर, बुवालाई अचानक पक्षघात भएर थलिए । परिवारको आड–भरोसा नै ओछ्यान परेपछि परिवारको बेहाल हुने नै भयो । ताराको अघिल्तिर दुःख र कष्टको चाङ थुप्रियो । रोगी बुवा स्यहार्नुपर्ने, भाइहरुको पालनपोषण गर्नुपर्ने, घरको चुल्हो बाल्नुपर्ने ।
यतिबेलासम्म उनको परिवार बागलुङ, छिस्तीबाट पोखरा सरिसकेको थियो । पोखरामा उनीहरु भाडाको कोठामा बसेर गुजारा चलाइरहेका थिए । सो बखत तारा १४ बर्षकी थिइन् । ९ कक्षामा पढ्दै थिइन् । आयआर्जनका लागि काम गर्नैैपर्ने बाध्यता भयो । जानेको काम त्यही हो, गीत गाउने । पोखराका रात्रिकालिन बार, गजल रेष्टुरेन्टहरुमा गाउन थालिन् ।
विद्यालयबाट फर्केपछि भाईहरुलाई खाजा, नास्ता खुवायो । अनि दौडियो कामतिर । घर फर्कदा झन्डै मध्यरात भइसक्ने । छोरी मान्छे हुनुको पीडा ! छिमेकीहरु उनीमाथि शंकाको दृष्टि विच्छ्यउथे । ‘निकै गाह्रो भयो’ तारा ति दिनहरु सम्झिन्छिन्, ‘विद्यालयबाट फर्किएपछि साथीहरु खेल्न निस्कन्थे । म खाजा बनाएर भाईहरुलाई खुवाएर काममा निस्किनुपथ्यो । कामबाट फर्किँदा राति ११ बजिसक्थ्यो । छरछिमेकले राम्रो नजरले हेरिदिँदैनथे ।’

नेपाल टेलिभिजनबाट ‘भ्वाइस अफ टिन’ नामक सांगीतिक रियालिटी शो प्रशारणको तयारी थियो । पोष्टरहरु पोखराका भित्ताहरुमा टाँसिएको थियो । तारालाई सहभागी हुने रहर जाग्यो । परिवार, साथीभाईले सहभागी हुन सुझाव दिए । तारा त्यसमा भाग लिन काठमाडौं आएकी थिइन् । तर, उत्कृष्ट २५ बाट अगाडि आउन सकिनन् ।
सोही समयदेखि आफू गायिका बन्छु भन्ने अठोट लिएको तारा सुनाउँछिन् । त्यसमा अगाडि आउन नसकेपनि उनले हरेश खाइनन् । पोखरामा लोकप्रिय गायन रियालिटी शो ‘बीग आइकन’मा भाग लिइन् । त्यसमा तारा उत्कृष्ट ४ मा पुग्न सफल भइन् । सोही समय अमित गुरुङको शब्द, संगीतमा ‘फुल सम्झे फूल तिमी’बोलको गीत गाउने अवसर पाएकी थिइन्
।
गजल रेष्टुरेन्ट, डान्सबारहरुमा गाउने, रियालिटी शोहरुमा भाग लिने, पढाईलाई निरन्तरता दिने क्रम चलिरहेको थियो । छोरीको संगीतप्रतिको लगाव र गायकीलाई बुवाले बुझिसकेका थिए । प्यारालाइसिसबाट थलिएका बुवाले एकदिन छोरीलाई भने, ‘संगीतमा राम्रो गर्ने हो भने पोखरामा बसेर हुँदैन । ठाउँमै गएर संघर्ष गर्नुपर्छ ।’ अनि संगीतमा राम्रो गर्ने संकल्प बोकेर तारा २०७१ सालमा काठमाडौं आइन् । गामबेसी दोहोरी साँझ, त्यहाँ मोर्डन सिंगरका रुपमा काम सुरु गरिन् । सुख–दुःख दैनिकी चलिरहेको थियो ।
एकदिन ग्राहकका रुपमा मालिंगो गजल एण्ड वारमा पुगेकी थिइन् । सो निकै चलेको गजल एण्ड वार थियो । उनी आफूले ‘रिक्वेट’ गरेर एउटा गीत गुनगुनाइन् । ‘त्यहाँ मेरो स्वर मन परेपछि कामको अफर गर्नुभयो’ उनी भन्छिन्, ‘त्यसपछि आर्थिक रुपमा केही सहज हुँदै गयो ।’ त्यहाँबाट आफुले संगीतसम्बन्धि धेरै ज्ञानहरु सिकेको समेत ताराले बताइन् ।
‘गाह्रो निकै थियो । अलिकति बिग्रेपनी गाली खाइन्थ्यो’ उनले अगाडि भनिन्, ‘तर त्यो गालीले गर्दा नै धेरै कुराहरु सिकेँ ।’ सोही समयमा उनले थुप्रै गीत रेकर्डिङका अवसरहरु पाइन् । ‘सर्भाइभ हुनका लागि पनि आएका गीतहरु गाएँ । तर, अधिकांश गीत लाइटमा आएनन्’ उनले सुनाइन् । चलचित्र, कौरा, सालैजो, गुरुङ, मगर भाषाका गीतहरु गरी ५ देखि ६ सयसम्म गीत रेकर्ड गराएको बताईन् । त्यसमध्ये चलचित्र ‘शिरफूल’को शीर्षगीत लगायतका केही गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए ।
ताराले मालिंगो गजल एण्ड वारमा झण्डै ४ वर्ष काम गरिन् । त्यसपछि सो गजल एण्ड वार बन्द भयो । अर्को गजल साँझमा काम गरिन । नाम थियो, आलिसान गजल । तीन महिनाका लागि कतार पनि पुगिन्, दोहोरी साँझमा गजल गायिकाका रुपमा । यो कोरोना महामारी आउनु केही अगाडिको कुरा थियो ।
बुवाको ईच्छा पुरा गर्न ‘भ्वाइस’मा आएँ
गजल साँझमा गाईरहेकी थिइन् । कमाई ठिकै भइईरहेको थियो । परिवारले भनेको समयमा पैसा पठाउन सक्ने भएकी थिइन् । धेरै गीत गाएपनि चिनारी बनिसकेको थिएन् । जुन कुराले उनलाई पिरोलिरहन्थ्यो ।
‘यति धेरै काम ग¥र्यौ तर आफ्नो नाम पनि हुनुपर्यो । तिमीलाई भ्वाइस अफ नेपालको स्टेजमा हेर्ने ठूलो ईच्छा छ’ एकदिन वुवाले भने । ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनमा सहभागी हुन पनि धेरैले आग्रह नगरेका होइनन् । तर, त्यतिबेला उनी आफैलाई सहभागी हुन ईच्छा लागेन् ।
तेस्रो सिजन आउने तयारी भैरहँदा बुवाले सहभागी हुन आग्रह गरे । साथीसंगीले पनि भन्थे, ‘त्यहाँ जानुपर्छ, तिमीलाई धेरै प्लस प्वाइन्ट हुन्छ । तिमीले गाएको गीतले भन्दा त्यो स्टेजले तिमीलाई माथि लैजान्छ ।’ अनि ताराले ‘भ्वाइस अफ नेपाल’को तेस्रो सिजनमा सहभागी हुने निधो गरिन् । डिजिटल फर्म भरिन् । प्रि–अडिसनका लागि फोन आयो । प्रि–अडिसनमा पुगेर गीत गुनगुनाइन् । ‘ब्लाइन्ड अडिसन’का लागि फोनको प्रतिक्षा गरिरहेकी थिइन् ।
आज फोन आउला, भोली आउला । धेरै दिन बित्यो तर फोन आएन् । ‘आशा मारिसकेकी थिएँ । म छनोट भइन् होला भन्ने सोँचिसकेकी थिएँ’ उनले भनिन्, ‘२० दिनभन्दा पछि फोन आयो । निकै खुसी लाग्यो ।’ ‘ब्ल्याइन्ड अडिसन’मा गाइन्, ‘तिमी नै हौ…’ । चारैजना कोचको मन जितिन । चारै कोचहरु ‘टर्न’ गरे । आँखा चिम्लिन र कोचमा राजु लामालाई रोजिन् ।
नसोँचेको चर्चा पाएँ
जब तारा ‘भ्वाइस अफ नेपाल’मा प्रस्तुत हुन थालिन् । उनले सोँचेकी थिइनन्, यात्रा यहाँसम्म आइपुग्ला भनेर । ब्याटल, नकआउट, लाइभ राउण्ड हुँदै उनी फाइनल राउण्डमा आईपुगेकी छिन् । त्यसमाथि ‘भ्वाइस अफ नेपाल’मा फाइनलमा पुग्ने पहिलो महिला बन्न सफल भएकी छिन् । यसले उनलाई थप खुःसी मिलेको छ ।
स्रोता एव दर्शकको निकै माया पाएको तारा बताउँछिन् । ‘मैले सोँचेकी थिइन् । यतिधेरै दर्शक–स्रोताहरुले मेरो स्वरलाई मन पराउनुहुन्छ, माया गर्नुहुन्छ भनेर । भ्वाइसबाट मैले नसोँचेको नाम पाएकी छु’ उनी भन्छिन्, ‘त्यति धेरै गीत गाउँदा नपाएको चर्चा अहिले पाएँ । एकदमै खुुसी छु ।’ यस अगाडिको यात्राबारे थाहा छैन् । तर, यहाँसम्म आउन सकेकोमा निकै सन्तुष्ट छिन् तारा । सायद, त्यो भन्दा खुसी होलान, प्यारालाइसिसबाट थलिएका उनका बुवा ।






















