धारा निर्माण पछि हुम्लावासीलाई खानेपानी सहज


हुम्ला । मुलबाट बग्दै आएको पानीका लागि धारा निर्माण गरिएपछि हुम्लाका स्थानीयलाई सहज भएको छ। यसअघिको सो पानी भर्न असजिलो र समय लाग्नुका साथै फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयलाई हटेको हो।
ताँजाकोट गाउँपालिका–५ को भदौरा बस्तीका लागि धारा निर्माण गर्ने कार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। पानीको मुहानमा यसअघि धारा निर्माण नगरिएको कारण मुलको पानी खार्पु पर्ने बाध्यता स्थानीयलाई थियो। स्थानीयलाई पानी भर्न असजिलो, पालो. कुर्नु पर्ने, मुलको पानी भर्दा फोहोर र जुका आउने जस्ता समस्याबाट मुक्ती मिलेको छ।
भदौरालगायतका बस्तीका एक सय घरधुरीका स्थानीयले सो धाराको पानी प्रयोग गर्न पाएका छन। कर्णाली प्रदेश सरकारको बिशेष अनुदान सहयोगबाट गाउँपालिकाले सो धारा निर्माण गरेको छ। भिरालो मुहान सिमेन्टको गाह्रो लगाएर चार वटा धारा निर्माण गरिएको छ।
पहिरोबाट बचाउन धाराको पछाडी पट्टी ग्याविनसमेत लगाएर सुरक्षित पारिएको छ। पशुबस्तुलाई पानी प्रयोग गर्ने संरचना पनि धारासँगै निर्माण गरिएको छ। यसका लागि पचास लाख बजेट खर्च भएको थियो।
पहिले मुलबाट पानी भर्दै आएका सो गाउँका स्थानीय जनक बुढाले धारा निर्माण पनि पानी प्रयोग गर्न, सरसफाइ गर्न र पशुवस्तुलाई प्रयोग गर्न सहज भएको छ। पानीको मुहान नभएको सो गाउँको केही तल मुहान भएको कारण घरघरसम्म धारा जडान गर्ने सम्भावना थिएन। यति भएपनि पानी सहज रुपमा प्रयोग गर्ने कार्य भएकोमा उनले खुली ब्यक्त गरे।























