मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
घरको आगनमै बस सेवा पाउँदा स्थानीय दङ्ग


बाजुरा मङ्सिर १७ । बाजुराको पुर्वि उत्तर क्षेत्रको दुर्गम गाउँका स्थानीयहरु यती बेला आफ्नो घरको आगनमै बस सेवा लिन पाउँदा निकै खुसी भएका छन् । बसको टिकट लिनकै लागि उनीहरु एक दिन पैदल हिडेर सदुरमुकाम मार्तडीमा आउने जाने गर्थे । अहिले यहाँका स्थानीय तहको पहल तथा समन्वयमा कोल्टीबाट बस चल्न सुरुभएसँगै घरको आगनमै बस चढ्ने गरेपछि उनीहरु खुसी भएका हुन् ।
धनगढी महेन्द्रनगर काठमाण्डौ जानु परेमा पहिला एक दिन पैदल हिडेर मार्तडीबाट बसको टिकेट लिने गथ्र्यौ । अहिले कोल्टी देखि बस घरको आगनमै आउँछन् । अनी हामी पनि घरको आगनबाट नै बस सेवा लिन पाउँदा निकै खुसी भएको बुढीनन्दा नगरपालिका –७ सेरकाटीयका दलबहादुर विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हिउँदको महिना घरकै आगन देखि बस चढ्न पाएका छौ । यस्तै सुविधा वर्खामा समय भए झनै राम्रो हुन्थ्यो । वर्खाको समय धेरै ठाउँमा बाटो अवरुद्ध हुन्छ । त्यति बेला कोल्टी देखि आउने बस उता मार्तडीमै रोकिने गर्छन् ।” कच्ची सडक भएकोले वर्खा थोरै पानी पर्ने वित्तिकै हिलाम्य हुन्छ । कतै पहिरो लाग्छ । यो सडक चाँडै कालोपत्रे हुन पाए हुन्थ्यो । त्यसपछि हामीलाई हिउँद वर्खामै घरको आगन देखि बस चढ्न सहज हुने विकले बताउनुभयो ।
मार्तडी कोल्टी सडक कोल्टीमा पुगेको झण्डै बीस वर्ष भयो । यहाँ छोटा दुरीका सवारी साधान सुचारु हुने गरेको भएपनि बस चै सुचारु भएका थिएन । हामीले २०८० सालमै यहाँका स्थानीयलाई सहज हुने गरी यातायात बस व्यवसायी र सडक विभागलाई समन्वय गरेपछि कोल्टीमा बस सुचारु गरेका हौ । वर्खाको समय पहिरोको कारण सडक अवरुद्ध बनेको थियो । त्यो सडकलाई सडक डिभिजन कार्यालय अछामलाई समन्वय गरेर हाम्रो डोजरले सफाई गरेपछि अहिले फेरि बस कोल्टी देखि अत्तरिया, मेहन्द्रनगर , धनगढी र काठमाण्डौ लगायतका सहरमा बस निरन्तर चलिरहेको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनकबहादुर बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले यहाँ प्राय धेरै ठाउँमा डबल कटिङ्ग गर्ने काम भइरहेको छ । बुढीनन्दा नगरपालिकाको पाण्डुसैनमा त अहिले सडकको पानी पीच गर्ने काम भइसेको छ । भौतिक पुर्वाधारले पनि ठेकेदार कम्पनीले डबल कटिङ्ग गर्ने काम तथा पानी पीच गर्ने कामलाई तीब्रता दिनका लागि पहल कदमी गर्दै आएको छ । ”
हामीले पनि ठेकेदार कम्पनीलाई तथा भौतिक पुर्वाधार कार्यालय अछामलाई मार्तडी कोल्टी सडक कालोपत्रेको कामलाई चाँडो भन्दा चाँडो काम सम्पन्न गर्नका लागि भनिरहेका छौ । अबका केही वर्षमा यो सडक कालोपत्रेको काम भएसँगै अनी त्यसपछि यहाँका स्थानीयले हिउँद वर्खामै घरको आगन देखि बस चढ्ने अवसर प्राप्त गर्ने सक्ने प्रमुख बोहराले बताउनुभयो । मार्तडी कोल्टी सडकको कालोपत्रेको काम गर्नका लागि २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा ८५ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।
तर कामको जिम्मा लिएका ती दुइ ठेकेदार कम्पनीले जिम्मा लिएको समयमा भने काम गर्न सकेका छैन् । अहिले सम्म पनि यहाँको मार्तडी कोल्टी सडक कालोपत्रको काम अलपत्र परेको छ । मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले २६ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएको भौतिक पुर्वाधार विकास कार्यालय अछामले जनाएको छ । वर्खाको समयमा काम रोकिएको थियो । अहिले फेरि काम सुरु गर्नका लागि हामीले सो कम्पनीलाई पत्रकार गरेसँगै अहिले मार्तडी कोल्टी सकड निर्माणको काम सुरु भएको भौतिक पुर्वाधार कार्यालय अछामका प्रमुख जङगबहादुर थापाले बताउनुभयो ।























