बिच्छ्यामा वडागत योजनाहरुको सम्झौता घुम्ती सेवा सञ्चालन


बाजुरा , मंसिर १४ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – १ विच्छ्याँमा आर्थिक वर्ष २०८२/०८३ को वडागत योजनाहरुको योजना सम्झौता सम्बन्धी घुम्ती सेवा सञ्चालन गरिएको छ । अहिले हिमाली गाउँपालिका १,२ र ३ वडाका निर्माण योजना उपभोक्ता समितिहरु वडा नम्बर १ को कार्यालय बिच्छ्यामा आएर योजना सम्झौता प्रक्रिया धमाधम चलिरहेको छ । अग्लो आर्थिक वर्षका योजना सम्झौता गर्न गाउँपालिका जानु धाउनुपर्ने स्थित यो वर्ष हटेको छ ।
अहिले हिमाली गाउँपालिका प्राविधिक शाखा, प्रशासन शाखा र योजना शाखा कर्मचारी बिच्छ्या जस्तो दुर्गम ठाउँमा पुगेर योजना सम्झौता गर्ने भएको छ । बिच्छ्याका निर्माण उपभोक्ता समिति सबै जनालाई गाउँपालिका ३/४ दिन लागेर योजना सम्झौता गर्नुपर्ने अवस्था थियो । अहिले योजना सम्झौता बिच्छ्या जस्तो ठाउँमा हुँदा निकै सहज भएको हिमाली गाउँपालिका -१ का वडा प्राविधिक चिरञ्जीवी रोकायाले बताउनुभयो । हरेक वर्ष गाउँमा आएका योजनाको सम्झौता गर्न गाउँबाट पैसा खर्च संगै धेरै समय लगाएर गाउँपालिकामा गएर २/३ दिन लागेर मात्र सम्झौता गर्ने काम हुन्थ्यो ।
यो सालमा हिमाली गाउँपालिकाले वडा गत निर्माण योजनाको सम्झौता वडामा गर्ने निर्णय गर्दा दुर्गम स्थानीयलाई राहत भएको छ । सानातिना योजना पालिकाबाट धेरै टाढाको दुरी हुँदा आउँदा जादै केही पैसा त्यसमा खर्च हुने गर्थे । दुख पनि धेरै पाइने गरेको थियो । सानोतिनो योजना तीन जना अध्यक्ष , सचिव र कोषाध्यक्ष अनिवार्य जानुपर्ने पर्ने स्थित थियो । यसपालि वडामा योजना सम्झौता गाउँपालिका टोलि आएपछि धेरै बिच्छ्या वासीलाई सहज भएको स्थानीय धनबहादुर रोकायाले बताउनुभयो ।
वडागत योजनाहरुको समयमै निर्माण गर्न साउन २६ गतेको कार्यपालिकाको निर्णय अनुसार यस हिमाली गाउँपालिकाको वडा नम्बर १, २ र ३ का निर्माण योजनाहरु मंसिर १४ र गते योजनाहरुको लागत स्टेमेट तयार गरेर योजनाका उपभोक्ता समितिलाई काम सञ्चालन गर्न ताकेता गरिएको प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापाले बताउनुभयो । योजनाहरुको समिति गठन पश्चात हिमाली गाउँपालिकाको कार्यालयबाट वडा नं १, २ र ३ सबै वडाहरुको वडा नं १ स्थित विच्छ्याँमा २ दिने उपभोक्ता समिति सदस्यहरु सँगको परामर्श र योजना सम्झौता कार्यक्रम गरिने भएको छ । योजना सम्झौता सम्बन्धी घुम्ती सेवाको उच्चतम प्रतिफल प्राप्त गर्न सोही समय भित्र योजनाहरुको उपभोक्ता समिति गठन र लागत स्टेमेट तयार गर्न गाउँपालिकाले अनुरोध गरिएको छ ।























