बुटवलमा प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता आजदेखि शुरु


मनु गुरुङ
बुटवल, मंसिर १५ । बुटवलमा आजदेखि प्रथम सहिद लखन थापा स्मृति दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैछ । आयोजक नेपाल युवा मगर संघ बुटवल उपमहानगरपालिका- ७ ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो ।
मगर समुदायले हरेक वर्ष मनाउने पीतृ (बाजे-बज्या) पूजाको अवसरमा चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ८ समुहले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष कुमार राना मगरले नवलपुर टुडेलाई जानकारी दिए ।दिपनगरस्थित खेल मैदानमा हुने प्रतियोगितामा बिभिन्न क्लब तथा समुहले ३ जनासम्म राष्ट्रिय खेलाडीलाई समावेश गर्न पाउने भएकाले प्रतियोगितामा रोमाञ्चक प्रतिस्पर्धा हुने अध्यक्ष रानाले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका–७ का वडा अध्यक्ष पदम गाहाले मगरहरुको पहिचान र ईतिहासलाई स्मरण गर्दै आयोजना गरिएको प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिका र वडा कार्यालयकाे पनि सहयोग रहेको जानकारी गराए ।
प्रथम प्रतियोगिता कम रकममा सञ्चालन गरिएपनि यसपटक यथेष्ट सहयोग जुटेको उनले बताए । आगामी दिनमा पुरस्कार राशि थप बृद्वि गर्न आफ्नो तर्फबाट पनि सहयोग रहनेसमेत आश्वासन दिए ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, कप मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने दिलिप थापाले जानकारी दिए ।
यसैगरी तेस्रो र सान्त्वना हुने समुहले क्रमशः नगद २० हजार र १० हजार पुरस्कार प्राप्त गर्नुका साथै विभिन्न विधागत रुपमा समेत पुरस्कार प्रदान गरिने संयोजक थापाले जानकारी दिए ।
बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा विभिन्न दाताहरुबाट संकलित रकमबाट आयोजना गर्न लागिएको प्रतियोगिका लागि करिब १० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिताभर खेल हेर्नका लागि ३० सय बढी दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
प्रतियोगितामा दर्शकले निःशुल्क अवलोकन गर्न पाउने आयोजकले जानकारी गराएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते पीतृ पूजाका दिन हुनेछ ।
मगर समुदायले बुटवलमा हरेक वर्षमा मंसिर महिनामा पीतृ पूजा गर्ने प्रचलन रहेको छ । प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएको संस्थाका संरक्षक विष्णु थापा झेंडी मगरले जानकारी दिए । प्रथम सहिद लखन थापालाई पीतृको रुपमा प्रतियोगिता आयोजना गरिएको उनलेे जानकारी दिए ।























