अझै आएन सुजिताको भिसेरा रिपोर्ट : विना सापकोटाअझै बेपत्ता, प्रवेश छुटे १० हजार धरौटीमा


चितवन । राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युसम्बन्धमा कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिएकोमा हालसम्म रिपोर्ट आएको छैन । भिसेराका लागि नमुना दिएको एक महिना भएको छ ।
चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारीले भिसेरा परीक्षण रिपोर्ट अझै नआएको बताए । सुजिताको मृत्युको ठोस कारण पत्ता नलाग्दै प्रहरीले भने आत्महत्या दुरूत्साहनमा मुद्दा चलाएको छ । पोस्ट–मार्टम रिपोर्टबाट हत्या नभएको भनी तथ्य सार्वजनिक भएपछि भिसेरा परीक्षण गरिएको छ । भिसेराको आधिकारिक जानकारी आइपुगेको छैन । असार २३ गते नै भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा दिइएको थियो ।
आत्महत्या दुरूत्साहन आरोपमा पारिवारिक नातागोता अर्थात् मृतकको ठूलोबुबाको छोरा झापा जिल्लाका सुकदेव भण्डारीलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धान गरिरहेको छ । सुजिताको मृत्युमा सुकदेवकै संलग्नता रहेको भनी प्रहरीले त्यसतर्फ अनुसन्धान बढाएको चितवन प्रहरी प्रमुख एसपी अधिकारीले बताए ।
पारिवारिक बयान, मोबाइल गफ, काठमाडौँमा रहँदा–बस्दाको गतिविधिलाई प्रहरीले ठोस प्रमाणको रुपमा लिएको छ । तर, तथ्यगत प्रमाणका लागि भने भिसेरा रिपोर्ट नै कुर्नुपर्ने हुन्छ । असार ११ गते घरबाट हिँडेकी सुजिता असार २० गते राप्ती नगरपालिका वडा नं–३ कै ब्रह्मस्थान सामुदायिक वनस्थित आँपगैरी खोल्सामा मृत अवस्थामा भेटिएकी थिइन् ।
त्यस्तै, असार १४ गतेदेखि हराइरहेकी विना सापकोटाको अवस्था अझै अज्ञात छ । प्रहरीले खोजी जारी राखेको बताएको छ । उनी हराउनुमा भरतपुरका प्रवेश कँडेल दोषी रहेको भन्दै विनाका बुबाले जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारमा जाहेरी दिएका थिए ।
जिल्ला प्रशासन कार्यालय चितवनको साउन ११ गतेको आदेशले प्रवेश १० हजार धरौटी बुझाएर छुटेका छन् । नारायणी नदीकिनारसम्म गएको भनी स्थानीयवासीले दिएको जानकारी र नजिकै रहेको सिसी क्यामेरा फुटेजमा विना देखिएकी थिइन्।






















