एनपिएल: कर्णाली याक्समाथि काठमान्डु गोर्खाजको सहज जित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबार भएको खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्समाथि सहज जित निकालेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा काठमान्डुले याक्सलाई ५ विकेटले पराजित गर्यो।
जितसँगै काठमान्डुले छैटौं खेलमा चौंथो जित निकाल्यो। याक्सले भने प्रतियोगितामा चौंथो हार भोग्यो । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले काठमान्डु गोर्खाजलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा काठमान्डुले उक्त लक्ष्य १२ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्यो।
काठमान्डुको जितमा गेर्हार्ड एरासमसले ४३ रनको अविजित इनिङ्स खेल्दा बेन चार्लेसवर्थले ३४ रन तथा मिलिन्द कुमारले १५ र जोन सिम्पसनले ४१ रन बनाए।
कर्णालीका लागि नन्दन यादवले ३ विकेट लिँदा पवन सर्राफले १ विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि गुल्सन झा ४९ रनमा अविजित रहे। उनीबाहेक मार्क वाटले ३० रन बनाउँदा पवन सर्राफले ३५ रन बनाए। त्यस्तै, दिपक डुम्रेले १० रनको इनिङ्स खेलेका थिए।
काठमान्डुका लागि रासिद खानले २ विकेट लिँदा करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान १-१ विकेट लिएका थिए।























