एयर स्पेस बन्द गर्ने ट्रम्पको धम्कीपछि के भन्छ भेनेजुएला ?


काठमाडौं । केही समययता अमेरिका र दक्षिण अमेरिकी मुलुक भेनेजुएलाबिच तनाव बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र आसपासको हवाई क्षेत्र (एयर स्पेस) बन्द गर्ने भनेपछि भेनेजुएला थप चिढिएको छ । ट्रम्पको यो अभिव्यक्तिलाई भेनेजुएली विदेशमन्त्रीले अर्को उच्छृंखल, गैरकानुनी र अनुचित आक्रमण भन्दै भर्त्सना गरेका छन् । अमेरिकासँग अर्को देशको एयर स्पेस बन्द गर्ने कानुनी अधिकार नभएको भन्दै यो औपनिवेशिक धम्की भएको उनले बताएका छन् ।
अमेरिकाले भेनेजुएला आसपास आफ्नो सेना तैनाथ गरिरहेको छ । लागूपदार्थ बोकेका भनिएका जहाजहरूमा कम्तीमा २१ वटा आक्रमण गरिसकेको छ । आक्रमणका कारण हालसम्म ८० जना भन्दा बढीको मृत्यु भएको छ । अमेरिकाले संदिग्ध जहाजमा लागूपदार्थ नै थिए भन्ने कुनै प्रमाण दिएको छैन । अमेरिकाका यी सबै कदम आफूलाई सत्ताबाट हटाउने प्रयास भएको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको भनाइ छ ।


















