प्रबास

हङकङमा आगलागी : मृत्यु हुनेको सङ्ख्या १२८ पुग्यो

एजेन्सी
२०८२ मंसिर १२ | मध्यान्ह ०३:०८ बजे

हङकङ ।  हङकङको आवासीय भवनहरूमा लागेको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । शुक्रबार आगलागी प्रभावित भवनहरूमा खोजीका क्रममा थप शवहरू फेला परेपछि मृत्यु हुनेको सङ्ख्या बढेको हो । अग्नि नियन्त्रकहरू अब खोजीको अन्तिम चरणमा पुगेको बताइएको छ । 

सञ्चारमाध्यमहरूका अनुसार सबैभन्दा धेरै फोन आएको तर आगोका कारण पुग्न नसकेका भवनहरूमाथि अग्नि नियन्त्रकहरूले ध्यान केन्द्रित गरिरहेका छन् । जलेका भवनहरूबाट शवहरू निकाल्ने काम भइरहेको र मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने हङकङका सुरक्षा सचिव क्रिस टाङले मिडियालाई बताएका छन् ।

बुधबार दिउँसो हङकङको ताई पो क्षेत्रको वाङ फुक कोर्ट कम्प्लेक्समा रहेको आठ भवनमध्ये सात वटामा आगो लागेको थियो । पुनर्निर्माण कार्यका लागि प्रयोग गरिएको बाँसको मचानले आगोलाई द्रुत रूपमा फैलाउन सहयाेग पुगेकाे अनुमान गरिएकाे छ । सोही क्रममा एउटा भवनबाट सुरु भएको आगोको लप्का अरू सातवटा भवनसम्म पुगेको अनुमान गरिएको छ । एक हजारभन्दा बढी अग्नि नियन्त्रकहरूले २४ घण्टा लगाएर  आगो नियन्त्रणमा लिएका थिए । 

आगलागी भएको २ दिन भए पनि भवनहरूबाट अझै धुवाँ आइरहेको छ । आठवटा अपार्टमेन्ट भवनको फायर अलार्मले राम्रोसँग काम नगरेको पाइएको छ । आगलागी पछि भवन निर्माणको मर्मत सम्भार कार्यमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । 

कमेन्टहरु