बिश्व

भारत भ्रमणमा आउँदै रुसी राष्ट्रपति पुटिन

एजेन्सी
२०८२ मंसिर १२ | मध्यान्ह ०३:०८ बजे

नयाँ दिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर ४ मा भारत भ्रमणमा आउने भएका छन् । उनको यो भ्रमण डिसेम्बर ५ सम्म हुने जनाइएको छ । ‘प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २०२५ को डिसेम्बर ४–५ मा भारतको भ्रमणमा आउनुहुनेछ । राष्ट्रपति पुटिनले २३ औँ वार्षिक भारत–रुस शिखर सम्मेलनमा भाग लिनुहुनेछ’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदी र पुटिनबिच भेटवार्ता पनि हुने जनाइएको छ । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुलाई पनि भेट्ने जनाइएको छ ।यो भ्रमणले भारत र रुसबिचको द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने महत्त्वपूर्ण अवसर प्रदान गर्ने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । भेटका क्रममा विश्वव्यापी मुद्दामा पनि छलफल हुने बताइएको छ । 
 
पुटिन यसअघि अन्तिम पटक २०२१ को डिसेम्बरमा भारतको भ्रमणमा आएका  थिए । २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरमा आक्रमण सुरु गरेयता पुटिनले भारतको भ्रमण गरेका थिएनन् ।पुटिन सन् २०२३ को सेप्टेम्बरमा नयाँ दिल्लीमा आयोजना भएको जी–२० शिखर सम्मेलनमा पनि सहभागी भएका थिएनन् । 

कमेन्टहरु