समाचार

“कमिसन बिना टेन्डर हुँदैन, अदृश्य शक्ति हाबी छ” विजय यादव निर्विज

नवलपुर टुडे
२०८२ मंसिर १२ | बिहान ०५:०८ बजे

रौतहट । रौतहटको फतुवा–बिजयपुर नगरपालिकामा करार सेवाका कर्मचारीहरू म्याद नवीकरणको मागसहित लगातार १६ दिनदेखि धर्नामा बसेका छन्। करार अवधि नथपिएको र अनिश्चिततामा पारिएको भन्दै कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

धर्ना स्थलमा आज आम जनता पार्टीका नगर अध्यक्ष तथा मेयर प्रत्यासी विजय यादव ‘निर्बिज’ पुगेर आन्दोलनरत कर्मचारीहरूसँग ऐक्यबद्धता जनाए। उनीहरूले नगरपालिकाको कार्यशैलीलाई लक्षित गर्दै मेयर प्रत्यासी निर्विजले कडा प्रहार गरेका छन्।

“कमिसन बिना टेन्डर हुँदैन, तर टेक्टर भने सजिलै चल्छ”

धर्ना स्थलमै सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‘निर्बिज’ले नगरपालिकामा कमिसनको चलखेलले जनताको काम रोकिएको आरोप लगाए। उनले भने, “आम्दानी नहुने टेन्डर अघि बढ्दैन, तर टेक्टर चलाउन कसैलाई समस्या हुँदैन। यहाँ अदृश्य शक्ति हाबी छ, जसका कारण सेवा प्रवाह प्रभावित भएको छ।”

उनले करार कर्मचारीको माग तुरुन्त सम्बोधन गर्न नगरप्रशासनलाई आग्रह गर्दै जनताको करबाट चल्ने कार्यालयमा राजनीतिक स्वार्थ, कमीशन र आन्तरिक शक्तिकेन्द्रहरूको प्रभावले सेवाग्राही र कर्मचारी दुवै पीडित भएको टिप्पणी गरे।

पत्रकार सम्मेलनमार्फत बेथिति सार्वजनिक गर्ने तयारी

मेयर प्रत्यासी ‘निर्बिज’ले फतुवा–बिजयपुर नगरपालिकामा बढ्दै गएको अव्यवस्था, कमिसन प्रथादेखि सेवासुविधा अवरुद्धजस्ता विषयहरूबारे आम जनतालाई जानकारी गराउन एक-दुई दिनमै पत्रकार सम्मेलन गर्ने घोषणा गरे।

उनका अनुसार, “पहिले नै कार्यवाहक नगर प्रमुख अम्ब्या खातुनलाई बिजुली, करलगायतका विषयमा ज्ञापनपत्र बुझाइसकिएको छ। अब बेथितिको विस्तृत विवरणसहित ठोस योजना सार्वजनिक गरिनेछ।”

यता धर्नामा बसेका करार कर्मचारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

फतुवा–बिजयपुर नगरपालिकामा १६ दिनदेखि निरन्तर जारी धर्ना, मेयर प्रत्यासी ‘निर्बिज’का आरोप र नगर सञ्चालनसम्बन्धी उठेका प्रश्नहरूले स्थानीय राजनीतिक माहोललाई अझ तातेको छ।

तालाबन्दीका कारण जन्म–मृत्यु दर्ता, नागरिकता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता फाइल, भवन नक्सा प्रक्रिया, व्यवसाय दर्ताजस्ता काम रोकिने क्रम बढेकाले सेवाग्राहीहरू निराश हुँदै फर्किन बाध्य छन्।

स्थानीयवासीले आन्दोलनरत कर्मचारी र नगर नेतृत्व दुवैलाई “छिटो सहमतिमा पुगेर सेवा सञ्चालन गर्न” आग्रह गरेका छन्।

कमेन्टहरु