तुलसीपुरमा मौरीका चाका बनाउने उद्योग स्थापना


तुलसीपुर (दाङ), मंसिर ११। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अशोककुमार शर्माले कुनै समय मौरीकालागि बाहिरी देशबाट चाका ल्याउनुपथ्र्यो । कहिल्यै भारतबाट त कहिल्यै चीनबाट चाका ल्याएर मौरी पालन गर्नुपर्ने अबस्था थियो । तर, अहिले मौरीका चाका तयार गरेर आफूले पनि प्रयोग गर्ने गरेको र बाहिरी जिल्लामा पनि निर्यात गर्दै आउनुभएको छ । “पहिले बाहिरबाट ल्याउथेँ”, उहाँले भन्नुभयो “ तर अहिले आफैँ चाका उत्पादन गरेर निर्यात गर्दै आएको छु ।”
उहाँले मौरी पालन पनि गर्दै आउनुभएको छ । २०६२ सालदेखि मौरी पालन गर्दै आउनुभएका उहाँले वार्षिक १५ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेको बताउनुभयो । जसमा खुद आम्दानी वार्षिक पाँच लाखसम्म हुने गरेको छ । उहाँले मेलिफेरा जातको मौरी पालन गर्दै आउनुभएको छ । ५० घार मौरी पालन गर्ने गरेको शर्माको भनाइ छ । उत्पादन गरेको मह दाङसहित विभिन्नि जिल्लामा निर्यातसमेत हुने गरेको छ ।

















