युक्रेन शान्ति योजना : अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतले रुसमा छलफल गर्ने


वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले आगामी हप्ता रुससँग युक्रेन शान्ति योजनामाथि छलफल गर्ने भएका छन् । अमेरिकाले युक्रेनमा जारी युद्ध अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजना पूरा गर्न जोड बल गरिरहँदा विटकफ रुस जान लागेका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ विदेशी नीति सहयोगी युरी यशकोभले पनि विटकफको आसन्न भ्रमणको पुष्टि गरेका छन् । सम्भावित शान्ति सम्झौतामा ह्वाइट हाउससँग साझा बुझाइमा पुगिएको युक्रेनले बताएपछि यो सामाचार बाहिर आएको हो ।
गत हप्ता ट्रम्पले युक्रेनमा शान्ति स्थापनार्थ २८ बुँदे मस्यौदा योजना अघि सारेपछि सो योजनामाथि व्यापक छलफ भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षबाट थप इनपुट लिएर योजनालाई अझै राम्रो पारिएको बताएका थिए । ट्रम्पले आफ्ना ज्वाइँ जेरेड कुशनर पनि रुससँगको छलफलमा उपस्थित हुनसक्ने बताएका छन् ।


















