त्रिवि रङ्गशालामा सुविधा र प्रविधिमा प्रभावकारी व्यवस्थापन भएको दर्शकको भनाइ


कीर्तिपुर (काठमाडौँ), मङ्सिर १० । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् । दर्शकले खाद्य स्टल, शौचालयलगायत सुविधाको भने उचित व्यवस्थापन हुन नसकेको गुनासो गरेका हुन् ।
पोहोरको तुलनामा सुरक्षा व्यवस्थापन, पार्किङलगायतको व्यवस्थापन पनि सहज भएको जोशीले बताउनुभयो । शौचालयको पर्याप्त व्यवस्था नहुँदा, पानी र खाजागायतका लागि खाद्यस्टल नभएकाले केही अप्ठ्यारोमा पर्ने गरेको उहाँले प्रतिक्रिया दिनुभयो । “पहिलो दिन त पानीको व्यवस्थासमेत थिएन, दर्शकले आवाज उठाएपछि दोस्रो दिनदेखि पानी भने पाइयो”, उहाँले थप्नुभयो ।
भित्र केही सुविधासम्पन्न रेस्टुराँका स्टल रहे पनि अधिकांश दर्शकका लागि महँगो हुने उहाँले बताउनुभयो । आफूले समर्थन गरेको सुदूरपश्चिमको खेल अहिलेसम्म राम्रो रहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
एनपिएल हेर्न सात वर्षको छोरासहित कीर्तिपुर पुग्नुभएकी शान्ति शाहले पोहोरको तुलनामा टिकट बिक्री छिट्टै भएकाले रोजेको टिमको खेल हेर्न नपाएको गुनासो गर्नुभयो । पोहोर आफूले उभिएर हेर्नुपरेको सम्झदै उहाँले यस पटक भने सपरिवारले सहज रूपमा अवलोकन गर्न पाइरहेको प्रतिक्रिया दिनुभयो ।
कर्णाली एक्सका समर्थक राजेश रानाले गत वर्षजस्तो चौरको चिसोमा बसेर खेल देर्नुनपरेको बताउनुभयो । रङ्गशाला अन्तरराष्ट्रियस्तरमा पुगेकाले पोहोरकोभन्दा प्रभावकारी व्यवस्थापन गरिँदा यसपटक खेल हेर्न सहज हुनुका साथै दर्शक पनि बढेका उहाँको भनाइ छ । “टिकटको मूल्य बढेको भए पनि वितरण र रङ्गशालामा प्रवेश गराउने प्रक्रियासमेत व्यवस्थस्थित छ”, उहाँले भन्नुभयो ।
एनपिएल हेर्नका लागि जुम्लाबाट कीर्तिपुर आउनुभएका तरुण काफ्लेले पोहोरभन्दा उत्कृष्ट व्यवस्थापन भएको प्रतिक्रिया दिनुभयो । “पोहोर यत्तिको व्यवस्था थिएन । टिकट ब्ल्याकमा बिक्री हुने र जो सुकै पनि छिर्न सक्ने अवस्था थियो । अहिले सुरक्षासहित टिकट बिक्रीवितरण पनि प्रभावकारी रूपमा भइरहेको छ”, उहाँले भन्नुभयो ।























