चितवनमा दुर्घटनामा वृद्धि : गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए


चितवन, मङ्सिर ९ । गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २१ पुरुष छ जना महिला र बालबालिका दुई जना रहेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएको हो । यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन छन् ।
गत आवको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ । गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए ।
दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताउनुभयो । फराकिला सडकमा तीव्रगतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चालउँदा अहिले दुर्घटना बढेको उहाँले बताउनुभयो । सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उहाँले जानकारी दिनुभयो ।























