वायु प्रदूषण विरुद्धको प्रदर्शनलाई लिएर दिल्लीमा किन भइरहेछ विवाद ?


नयाँ दिल्ली । दिल्लीको संसद्बाट अलि टाढा रहेको इन्डिया गेटमा आइतबार विद्यार्थीहरूको विरोध प्रदर्शन हिंसात्मक भयो। प्रदर्शनकारीहरूले दिल्ली–एनसीआरमा बढ्दो वायु प्रदूषणको विरोधमा सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । प्रहरीले प्रदर्शनकारीहरूलाई जबरजस्ती इन्डिया गेटबाट हटाएको थियो । विरोध प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको खबर पनि आएका छन् । प्रदर्शनकारीहरूले आफूहरूमाथि पेपर स्प्रे प्रयोग गरेको दाबी प्रहरीले गरेको छ । आफ्ना केही अधिकारी पेपर स्प्रेका कारण घाइते भएका र अस्पताल नै भर्ना गर्नुपरेको प्रहरीले बताएको छ ।
विरोधस्थलबाट प्राप्त दृश्यमा प्रदर्शनकारीहरूले माओवादी कमाण्डर माडवी हिडमाको तस्बिर बोकेको देखिएको छ । प्रहरी मुठभेडमा हालै हिडमाको मृत्यु भएको सुरक्षा बलहरूले बताएका छन् । यी तस्बिरमाथि भारतीय जनता पार्टी (भाजपा)ले प्रश्न उठाएको थियो । पीटीआई र एएनआई जस्ता समाचार एजेन्सीहरूका अनुसार प्रदर्शनकारीहरू पहिले पोस्टर र प्लेकार्डहरू लिएर इन्डिया गेट नजिक पुगेर नारा लगाउन थालेका थिए । त्यसपछि तिनीहरू धर्नामा बसे । त्यस समयमा त्यहाँ ठुलो संख्यामा प्रहरीलाई तैनाथ गरिएको थियो ।
पीटीआई र एएनआई जस्ता समाचार एजेन्सीहरूसँग कुरा गर्ने क्रममा धेरै प्रदर्शनकारीहरूले एक्यूआईको तथ्यांकमाथि प्रश्न उठाए । सरकारले तथ्यांक लुकाउन बन्द गर्नुपर्ने र प्रदूषण खतरनाक स्तरमा पुगेको स्वीकार गर्नुपर्ने अधिकांशको भनाइ थियो ।
आइतबार दिल्लीमा वायु प्रदूषण अत्यन्तै खराब रह्यो । त्यहाँको एक्यूआई लगभग ५०० पुगेको थियो । यो सबैभन्दा अस्वस्थ मानिन्छ । प्रदूषण नियन्त्रण गर्न दिल्लीमा ग्रेडेड रेस्पोन्स एक्सन प्लान ग्रेप–३ लागु गरिएको छ । यसअन्तर्गत भवनहरूको निर्माण र भत्काउन निषेध गरिएको छ । यद्यपि राष्ट्रिय सुरक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधारसँग सम्बन्धित आवश्यक परियोजनाहरूलाई छुट दिइएको छ ।
के भन्छन् प्रहरी अधिकारी ?
प्रहरी कर्मचारीमाथि पेपर स्प्रे प्रयोग गरिएको यो पहिलो घटना भने होइन । ‘हाम्रा केही अधिकारीहरूको आँखामा पेपर स्प्रे गरियो । उनीहरूको आरएमएल अस्पतालमा उपचार भइरहेको छ । यस विषयमा कानुनी कारबाही भइरहेको छ,’ नयाँ दिल्लीका डीसीपी देवेश कुमार महलाले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘केही प्रदर्शनकारीहरू सी–हेक्सागनभित्र भेला भए र त्यसपछि हामीले राखेको ब्यारिकेड पार गर्न खोजे । उनीहरूले कुरा मानेनन् र ब्यारिकेड तोडेर सडकमा बसे ।’
धेरै एम्बुलेन्स र मेडिकल कर्मचारी सडकमा अड्किएकोले प्रदर्शनकारीलाई हट्न भनेको तर उनीहरूले नमानेको बताइएको छ । हटाउने क्रममा प्रदर्शनकारीले प्रहरीसँग झगडा गरेको र धेरै प्रहरी घाइते भएको पनि उनले बताए ।
सोमबार पनि दिल्लीलाई धुवाँको बाक्लो तहले घेरेको थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीबीसी)का अनुसार दिल्लीका केही क्षेत्रहरूमा एक्यूआई ४ सय रेकर्ड गरिएको छ । वायु गुणस्तर ४४१ नाघेको छ, जसलाई गम्भीर मानिन्छ । सीपीबीसीको तथ्यांकअनुसार सोमबार बिहान आनन्द विहार क्षेत्रमा एक्यूआई ४४१ रेकर्ड गरिएको थियो ।























