कोशीमा मतदाता नामावलीका लागि एक लाख ५७ हजारको निवेदन


विराटनगर, मङ्सिर ८ । कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो ।
निर्वाचन आयोगले आफू बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकूल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीका अनुसार सोह्र वर्ष पूरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरे पनि फागुन २० गतेसम्म १८ वर्ष पूरा भएकाहरु मात्रै फागुन २१ गतेको निर्वाचनको मतदाता हुन पाउने छन् । अहिले मतदाताको नामावली अद्यावधिक गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी अधिकारीका अनुसार निवेदन दिनेहरु दोहोरिएको हुनसक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिए पनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटि भएकाको सच्याइने र ठाउँ सारी भएका सबैको अद्यावधिक गरी यही मङ्सिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाइने छ । गत असोज १० गतेअघिसम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९०० मतदाता थिए ।























