आठमध्ये पाँच वटा युद्ध ट्यारिफको धम्की दिएर रोकेको ट्रम्पको दाबी


वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ठुलो दाबी गरेका छन् ।आफूले आठ युद्धमध्ये पाँच वटालाई अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाउने धम्की दिएर रोकेको दाबी गरेका छन् । ट्यारिफका कारण अमेरिकाले विश्वभरका देशहरूबाट खर्बौँ डलर कमाइरहेको पनि उनले बताए । आफ्नो ट्यारिफ नीतिलाई सफल भएको र यसले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुगेकोमा उनले जोड दिएका छन् ।
उनले करको धम्की दिएर आठ युद्धमध्ये पाँच युद्ध सीधै रोकेको आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमा सेयर गरिएको एक पोस्टमार्फत भनेका हुन् । ‘हामीले ट्यारिफको कारण विभिन्न देशहरूबाट कर र लगानीको रूपमा खर्बौँ डलर लिइरहेका छौँ । मैले ट्यारिफको धम्की दिएर आठ युद्धमध्ये पाँच युद्ध रोकेको छु, किनभने उनीहरूले लड्न बन्द गरेनन् भने उनीहरूलाई ट्यारिफ लाग्ने खतरा छ,’ ट्रम्पले पोस्टमा लेखेका छन् । यस वर्ष मेमा भारत र पाकिस्तानबिचको सैन्य द्वन्द्व रोक्न पनि ट्यारिफको धम्की दिएकाले भएको दाबी ट्रम्पले गरेका थिए ।


















