समाचार

कपिलवस्तुको कारागारमा फरार भएका कैदी नै कारागारकोे चौकीदार

नवलपुर टुडे
२०८२ मंसिर ७ | बिहान ०८:०८ बजे

कपिलवस्तु । कपिलवस्तुको तौलिहवास्थित कारागारमा गत २३–२४ भदौको जेन–जी आन्दोलनमा फरार भएका कैदीलाई नै चौकीदार नियुक्त गरेको खुलेको छ । तौलिहवा कारागार प्रशासनका अनुसार जेल प्रशासनले जबर्जस्ती करणी कसुरका सद्दाम हुसेन मुसलमानलाई चौकीदारमा नियुक्त गरेको हो ।

उनी २४ भदौमा कारागारबाट फरार भएका थिए । कारागार प्रशासनको चेतावनीपछि उनी कारागार फिर्ता भएका थिए । फरार हुनुअघि उनी नै चौकीदार थिए ।  तौलिहवा कारागारका जेलर दलबहादुर बस्नेतले घटना सम्बन्धमा बुझेर मात्रै जानकारी दिन सकिने बताए । ‘सद्दाम हुसेन २४ भदौको जेन–जी आन्दोलनका क्रममा फरार भएका थिए । पछि उनी आफैँ फर्किए । त्यसअघि उनी चौकीदार थिए । अहिले उनी कैदमै छन् । तर, उनी हाल पनि चौकीदार रहे–नरहेको बुझेर मात्रै भन्न सक्छु,’ उनले भने ।

कारागार प्रशासनका अनुसार उनी ब्लक ‘बी’को चौकीदार हुन् । नियमअनुसार कारागारबाट फरार भएका कैदीलाई चौकीदार नियुक्त गर्न मिल्दैन । हुसेनअघि कारागारमा दामोदर थारू चौधरी चौकीदार थिए । जबर्जस्ती करणी कसुरका उनकै चलखेलपछि हुसेनलाई फरारपछि पनि पुन: चौकीदार नियुक्त गरिएको हो । हुसेनले चौधरीकै निर्देशनअनुसार अहिले काम गर्दै आएका छन् ।

कानुनअनुसार कारागारको आन्तरिक प्रशासनमा एक कैदी एकपटक मात्रै चौकीदार हुन पाउँछ । जसको करार अवधि वर्ष दिन तोकिएको छ । दोस्रोपटक आफू चौकीदार हुन नसक्ने भएपछि चौधरीले हुसेनलाई पुन: चौकीदारमा नियुक्त गर्न लगाएको प्रशासनको दाबी छ । कारागारमा २४ भदौअघि ४५० कैदीबन्दी थिए, त्यसमध्ये १२८ कैदीबन्दी अझै जेल फर्केका छैनन् । 

कमेन्टहरु