लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल स्पष्ट अल्पमतमा ‘काउन्ट डाउन’ सुरु


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ‘काउन्ट डाउन’ सुरु भएको छ । सत्तामा रहनका लागि अनेक दाउपेच अपनाएको आरोप लागेका उनी प्रदेशसभाको अंक गणितअनुसार अल्पमतमा देखिन्छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबारका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् ।
विपक्षी गठबन्धनले माग गरेबमोजिम प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका हुन्, जहाँ विपक्षी गठबन्धनकै तर्फबाट प्रदेश सभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ । विपक्षी गठबन्धनले दुई दिनअघि प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
उनीहरुले सोही दिन प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन आह्वानका लागि समावेदन समेत दिएका थिए । लुम्बिनी प्रदेशसभामा हाल ८० सांसद कायम छन् । यस आधारमा बहुमतका लागि कम्तीमा ४१ सांसदको समर्थन आवश्यक हुन्छ । तर मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसदमात्र छन् । उनको सरकारलाई समर्थन जनाएका जसपाका तीन सांसदलाई पार्टीले कारवाही गरिसकेको छ ।
प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित १९ सांसद छन्, जसमा नेकपाबाट उपनिर्वाचनमार्फत विजयी भएकी सांसद विमला वली पनि सामेल छिन् । केही दिनअघि वलीले विज्ञप्ति जारी गर्दै आफू एमालेमा रहेको सार्वजनिक गरेकी थिइन् । तर बिहीबार उनले पत्रकार सम्मेलन गर्दै आफूलाई एमालेका नेताहरुले अपहरण गरेर पाँच दिनसम्म मुख्यमन्त्रीको निवासमा अपहरण शैलीमा राखेको र जबर्जस्ती विज्ञप्ति जारी गर्न लगाएको भन्दै आफू माओवादी केन्द्रमै रहेको स्पष्टोक्ति दिएकी छन् ।






















