देश

नेपाल एयरलाइन्सको निजीकरण गर्ने निर्णय खारेज गर्न माग गर्दै कर्मचारीले गुहारे प्रधानमन्त्री

जगत ठाडा मगर
२०७८ साउन २१ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्न थालेको पहललाई खारेज गर्न माग गर्दै नेपाल वायुसेवा निगमका कर्मचारीहरुले प्रधानमन्त्रीलाई गुहारेका छन् ।

नेपाल एयरलाइन्सका सक्रिय ९ वटा ट्रेड युनियनका नेताहरुले बुधबार प्रधानमन्त्रीलाई भेटेर निगमलाई निजीकरण गर्ने निर्णय खारेज गर्नुपर्ने माग गरेका छन् । उनीहरुले महाप्रवन्धक डीम प्रसाद पौडेललाई तत्कालै पदबाट बर्खास्त गर्न समेत माग गरेका छन् ।

कर्मचारी संगठनले महाप्रवन्धकको तलव वृद्धि रोक्न र निगमको सञ्चालन समितिमा निगममा व्यवसायिक स्वार्थ बाझिने संस्थासँग आवद्ध रहेका व्यक्तिको नियुक्ति समेत खारेज हुनुपर्ने भन्दै प्रधानमन्त्रीसँग माग गरेका छन् ।

यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ । तर, कर्मचारीले भने ३३ दिनदेखि आन्दोलन जारी राखेका छन् । पर्यटन मन्त्रालयमा नयाँ नेतृत्व आएको छैन । कर्मचारीले महाप्रवन्धकले बनाएको वार्ता समितिसँग छलफल गर्न मानेका छैनन् ।

उता, व्यवस्थापन भने अहिलेकै संरचना र कर्मचारीको प्रवृत्तिले नेपाल एयरलाइन्स अगाडि बढ्न नसक्ने भन्दै कम्पनी मोडलमा जानु परेको बताइरहेको छ । सोही कारण दुबै पक्ष आफ्नो अडानमा अडिग रहेको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई भेटेका हुन् ।

कर्मचारीले हवाई माफियाको इरासामा नेवानिलाई कम्पनीकरण गर्न लागिएको समेत आरोप लगाएका छन् । उनीहरुले कोरोना महामारीले थलिएको भन्दै सरकारले निगमजस्ता संस्थालाई राहत प्याकेज भने दिनुपर्ने माग समेत गरेका छन् । सो प्रयोजनका लागि लगानी बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।रासस

कमेन्टहरु