काठमाडौँमा ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

रासस
२०८२ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

काठमाडौँ, मङ्सिर ५ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौं । सरकारको नीतिअनुसार हामीले काम गरिरहेका छौँ, यहीअनुसार घाइते भएका ७७ वटै जिल्लामा घाइतेको वर्गीकरण गरेरमा सरकारलाई सहज रूपमा विवरण प्राप्त हुनेछ ।”
वर्गीकरणका लागि घाइते परिचयपत्र बोकेर करिब १०० जना घाइते ‘जेनजी’ हरू ट्रमा सेन्टरमा पुगेका थिए ।
सरकारले ‘जेनजी’ प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि २०८२ जारी गरिसकेको छ । घाइतेलाई अतिगम्भीर, गम्भीर, मध्यम र सामान्य घाइतेगरी चार प्रकारमा वर्गीकरण गर्ने भनिएको छ । घाइतेमध्ये चोटपटकका आधारमा अतिगम्भीरलाई २३, गम्भीरलाई २१, मध्यम घाइतेलाई २३ र सामान्य घाइतेलाई ११ प्रकारका चोटपटकका आधारमा छुट्याउने गरिएको छ । वर्गीकरणका आधारमा परिचयपत्र उपलब्ध गराई सोहीअनुसारको सुविधा उपलब्ध गराउने सरकारको नीति छ ।






















