शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्, त्यसलाई पूरा गरौँः संयोजक दाहाल


काठमाडौँ, मङ्सिर ५। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको उल्लेख गर्दै संयोजक दाहालले अहिले ‘जेनजी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र ‘स्पिरिट’का साथ आवाज उठाइरहेको बताउनुभयो । “शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाको आकाङ्क्षा सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ”, उहाँले सन्देशमा भन्नुभएको छ ।
पूर्वप्रधानमन्त्री दाहालले विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि अपिलसमेत गर्नुभएको छ । उहाँले न्याय, समानता र स्वतन्त्रताका पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलीका साथै बेपत्ता योद्धा, घाइते, अपाङ्ग तथा उहाँहरुका परिवारप्रति उच्चसम्मान व्यक्त गर्नुभएको छ । नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक, भाषिक, क्षेत्रीयलगायत सबै प्रकारका उत्पीडनको अन्त्य गर्ने उद्देश्यसहित तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धलाई संस्थागत गर्ने सन्दर्भमा सरकार र विद्रोही पक्षबीच २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो ।






















