भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

रासस
२०८२ मंसिर ४ | मध्यान्ह १२:०८ बजे

भोजपुर, मङ्सिर ४ । भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।
कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
कोदोबाट रोटी, ढिंडो, केक, पेय पदार्थदेखि विविध परिकार बनाउन सकिने भएकाले यसको माग स्थिर रहँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रमा कोदोखेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा कोदो खेती भएको केन्द्रले जनाएको छ


















