देश

स्वास्थ्य मन्त्रालयलाई भवन हस्तान्तरण

रासस
२०८२ मंसिर ३ | मध्यान्ह ०४:०८ बजे

काठमाडौँ, मङ्सिर ३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन सिंहदरबारमा तयार भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०को नेपालस्थित कार्यालयले सिंहदरबारभित्र मन्त्रालयको ‘प्रिफ्याब’ भवन तयार भएको हो ।आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री डा सुधा गौतमलाई डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिका कार्यकारी प्रमुख डा क्याथरिना बोहेमलेले उक्त भवन हस्तान्तरण गर्नुभयो ।

सिंहदरबार परिसरभित्र दक्षिण पश्चिम क्षेत्रस्थित नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा निर्मित उक्त भवनमा मन्त्रालय शीघ्र सारिने र सोही स्थानबाट सेवा प्रवाह गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।भवन हस्तान्तरण कार्यक्रममा मन्त्री डा गौतमले डब्लुएचओसँग नेपालको लामो समयदेखिको सम्बन्ध रहेको उल्लेख गर्दै आपत्कालीन अवस्थामा डब्लुएचओले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिका कार्यकारी प्रमुख डा बोहेमलेले आपत्कालीन अवस्थामा पनि नेपालले उपलब्ध गराइरहेको सेवाको सराहना गर्दै मन्त्रालयलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले भवन बनाइएको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका अनुसार डब्लुएचओले सिंहदरबारभित्र छ वटा प्रिफ्याब भवनसहित एउटा चार कोठाको प्रिफ्याब निर्माण गरेको छ । जेनजी आन्दोलनका बेला मन्त्रालयको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अहिले स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालनमा छ । 

कमेन्टहरु