दुर्घटना

भारतीय थिएटरकी सक्रिय कलाकार अदिति मुखर्जीको सडक दुर्घटनामा मृत्यु

एजेन्सी
२०८२ मंसिर ३ | मध्यान्ह ०४:०८ बजे

नोएडा।  भारतीय थिएटर क्षेत्रमा प्रतिभावान् मानिएकी कलाकार अदिति मुखर्जीको नोएडा एक्सप्रेसवेमा भएको भिषण सडक दुर्घटनामा निधन भएको छ ।आइतबार सफीपुर गाउँ नजिकै यो दर्दनाक दुर्घटना भएको हो, उनी ग्रेटर नोएडाको गौतम बुद्ध युनिभर्सिटीमा एक कार्यक्रमका लागि बाइकमा जाँदै थिइन् । 

सफीपुर गाउँ नजिकै एक अज्ञात सवारीसाधनले उनको बाइकलाई तीव्र गतिमा ठक्कर दिएको थियो । गम्भीर घाइते अदितिलाई तत्काल शारदा अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले लेखेको छ । उनको निधनको खबरले भारतको थिएटर जगतमा गहिरो शोक छाएको छ । 

दिग्गज बलिउड अभिनेता आशुतोष राणासँग ‘हमारे राम’ नाटकमा अभिनय गरिरहेकी अदिति आफ्नो भाइ अरिन्दम मुखर्जीसँग दिल्लीको महिपालपुरमा बस्दै आएकी थिइन् । उनको निधनको खबर पाएपछि ओडिशाबाट उनका आमाबुवा पनि नोएडा आइपुगेका छन् । 

प्रख्यात रंगमञ्च निर्देशक अरविन्द गौरले अदितिको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भने, ‘अदिति एक प्रतिभाशाली, ऊर्जावान र उत्साही अभिनेत्री थिइन् । उनी अस्मिता थिएटरको २०२२ ब्याचकी सक्रिय अभिनेत्री थिइन् । उनको निधन हामी सबैका लागि अत्यन्तै पीडादायक घटना हो ।’

गौरले एपमा आधारित बाइकर्सले प्रयोग गर्ने सस्तो र असुरक्षित हेलमेटप्रति पनि चिन्ता व्यक्त गर्दै त्यस्ता हेलमेटमा तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । मंगलबार नोएडामा अदितिको पोस्टमार्टम गरिएको थियो । जसपश्चात सेक्टर-९२ स्थित श्मशान घाटमा उनको अन्तिम संस्कार गरिएको थियो ।  

कमेन्टहरु