धुलिखेल–खावा सडक पुनःविस्तार गर्न सम्झौता


काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकस्थित धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति योजनालाई बढाउन पुनः प्रक्रिया थालिएको छ । यसका लागि नयाँ निर्माण कम्पनीसँग हालै मात्र सम्झौता कार्य सकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
भक्तपुरले चालु आर्थिक वर्षको सुरुआतसँगै पुनः विस्तार कार्य गर्न बोलपत्र आह्वान गरेको थियो । कार्यालयले पुरानो ठेक्का रद्द गरेको साढे चार महिनापछि साउनमा पुनः बोलपत्र आह्वान गरेको हो । चार किलोमिटर लामो उक्त सडक खण्ड अबको नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशको भनाइ छ ।
जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । २०८१ जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटक पटकको वर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो ।
करिब चार वर्षसम्म उक्त सडक नबनी अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा समेत यात्रुले निकै सास्ती खेप्नुपरेको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समय सीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन ।
पछिल्लो वर्षदेखि उक्त सडक खण्डको निर्माणको काम ठप्प प्राय: नै थियो । सम्झौताको समय सीमा सकिएको ११ महिनापछि कार्यालयले गतसाल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो ।
यसैबिच स्रोत सुनिश्चित भई पनि नयाँ ठेक्कामा गएपछि सडक पक्की गर्न केही महिना लाग्ने भएकोले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । ‘अब नयाँ ठेक्काको प्रक्रिया अन्तिम चरणमा पुगेको छ, यही मङ्सिरदेखि सुरु हुने भएकाले सवारी सधान तथा यात्रुलाई सहजताका लागि समय समयमा खाल्डाखुल्डी पुर्ने काम गर्दै आएका छौँ’, योगेशले भने । सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भइसकेको छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडक खण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो ।
उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको छ ।























