बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध


त्रिशूली (नुवाकोट), मङ्सिर ३ । स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडामा फोहर विसर्जन आजदेखि पुनः प्रभावित भएको छ । नुवाकोटको ककनी र धादिङको धुनबेँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको अवरोधका कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडीलाई काठमाडौँ फिर्ता पठाइएको हो ।
ककनी गाउँपालिका–१, २ र ३ तथा धुनबेँसी नगरपालिका–१ र ३ वडाका प्रत्यक्ष प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर विसर्जन गर्न पुगेका गाडीलाई प्रवेश नदिई अवरोध जारी राखेका छन् । उनीहरूले विसंं २०७९ जेठ २६ मा काठमाडौँ महानगरप्रमुख बालेन्द्र शाहसहितको टोलीसँंग भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका हुन् ।
उक्त सहमतिमा फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने, फोहर विसर्जनपश्चात् लिच्चड खोलामा जान नदिन वैज्ञानिक व्यवस्थापन गर्नुपर्नेलगायत मागलाई समझदारीअनुसार चरणबद्ध रूपमा पूरा गर्ने उल्लेख छ ।
सहमति कार्यान्वयन नहुँदा प्रभावित क्षेत्रमा फोहरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको समक्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । मागको सम्बोधन र सहमति कार्यान्वयनका लागि मन्त्रीस्तरीय लिखित प्रतिबद्धताको साथमा जिम्मेवार प्रतिनिधि प्रभावित क्षेत्रमा आउनुपर्ने भन्दै सिसडोल, कुँडुले, ढाँडेका सडकमा सयौँको सङ्ख्यामा स्थानीय शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका छन् ।
स्थानीयको मागमा नुवाकोटको ककनी र बेलकोटगढी तथा धादिङको धुनबेँसीका जनप्रतिनिधि, दलीय प्रतिनिधिलगायतले समर्थन जनाएका छन् ।























