लहानमा ‘स्वच्छता अभियान’ सुरु


सिराहा । यहाँको लहान नगरपालिकाले दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२’ औपचारिक रूपमा सुरु गरेको छ ।विश्व शौचालय दिवसका अवसरमा आज पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहमा नगरप्रमुख महेशप्रसाद चौधरीले अभियानको उद्घाटन गर्दै स्वच्छता सुधारलाई अबको मुख्य प्राथमिकताका रूपमा अघि बढाइने घोषणा गरे ।
नगर प्रमुख चौधरीका अनुसार सात वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको लहानमा अझै पनि चार हजारभन्दा बढी घरपरिवार शौचालयविहीन रहेका छन् । उनले भने, ‘अब कागजमा मात्रै होइन, घरघरको वास्तविक अवस्था परिवर्तन गर्ने बेला आएको छ । त्यसको लागि हामीले स्वच्छता महाअभियानको सुरुवात गरेका छौँ ।’
नगरपालिकाले आगामी दुई वर्षमा लहानलाई पुनः पूर्ण खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख चौधरीले नगरवासीको सक्रिय सहभागिताकै माध्यमबाट स्वच्छता सुधार सम्भव हुने उल्लेख गर्दै भने, ‘शौचालय हुनु केवल सुविधा मात्र होइन, स्वास्थ्य र सम्मान दुवै हो ।’
उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।























