१० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन रोक्दा अभाव हुने चिन्ता


चितवन, मङ्सिर ३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने जनाएपछि एम्बुलेन्स अभाव हुने चिन्ता गरिएको छ । हाल सञ्चालनमा रहेका एम्बुलेन्समध्ये ८० प्रतिशत १० वर्ष पुराना रहेकाले अभाव हुने चिन्ता गरिएको हो ।
स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्थाबाहेक अन्यलार्ई एम्बुलेन्स खरिदको अनुमति नदिने उल्लेख गरेसँगै अभाव हुने भन्दै विज्ञप्तिमा एम्बुलेन्स सञ्चालनमा गैरसरकारी संस्था, सामुदायिक सङ्घ, सङ्गठन तथा सहकारीलाई समान अधिकार दिन माग गरिएको छ । एम्बुलेन्स क्षेत्रमा कुनै पनि किसिमको एकाधिकार लगाउन नहुने विज्ञप्तिमा जनाइएको छ ।
भूगोल, सडक अवस्था, आर्थिक पृष्ठभूमि र आम नागरिकको पहुँचलाई नहेरी गरिएको यस निर्णय व्यवहारिक, न्यायिक तथा मानवीय दृष्टिले अनुपयुक्त भएको भन्दै सङ्घले तत्काल पुनर्विचार र संशोधन गर्न माग गरेको छ । सङ्घले यसअघि यससँगै अन्य मागहरु राख्दै मन्त्री र राजनीतिक नेतृत्वलाई ध्यानाकर्षण गराएको थियो ।























