खेलकुद

सुदूरपश्चिम रोयल्स टमाटा ‘रणनीति’मा दीपेन्द्र र विनोदसँगै क्रिस लिनको साथ

नवलपुर टुडे
२०८२ मंसिर ३ | बिहान ०६:०८ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको फाइनलमा निराश बनेको टिम हो, सुदूरपश्चिम रोयल्स । नेपाली क्रिकेटकै उर्बर भूमी सुदूरपश्चिमको स्वामित्व इम्पायर स्पोर्ट्स म्यानेजमेन्टसँग छ ।

नेपालको महिला र पुरुष दुवै राष्ट्रिय टिम सम्हालिसकेका जगत टमाटा यो टिमको मुख्य प्रशिक्षकमा छन् । सुदूरपश्चिमको मार्की प्लेयरमा राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । 

दीपेन्द्रसँगै टिमका अरु नेपाली खेलाडीमा आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्र थापा,  अभिनास बोहरा, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, इशान पाण्डे, टेक रावत, हिक्मत महरा र नरेन साउद छन् । जसमध्ये सुदूरपश्चिमले दीपेन्द्रसँगै आरिफ, विनोद अभिनास, इशान र नरेनलाई रिटेन गरेको थियो । यस्तै, सुदूरपश्चिमले अक्सनबाट हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापा, दीपक बोहरा र मिलन बोहरालाई अनुबन्ध गरेको थियो । टिमका ‘आइकोनिक खेलाडी’मा हिक्मत महरा छन् । 

सुदूरपश्चिमले प्रतियोगिताको निम्ति पाँच विदेशी खेलाडी भित्र्याएको छ । यी पाँच विदेशी नाममध्ये अस्ट्रेलियाका क्रिस लिन सबैभन्दा चर्चित क्रिकेटर हुन् ।

लिनबाहेक सुदूरपश्चिमले विदेशी खेलाडीको रूपमा अस्ट्रेलियका जोस ब्राउन, न्युजिल्यान्डका अलराउन्डर क्रिस्टोफर कुग्गेलिन, यूएईका ध्रुव परासर र अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ । 

हेर्न लायक खेलाडीहरू
विदेशी खेलाडीहरुमा क्रिस लिन हेर्न लायक खेलाडीमा पर्छन् । उनले अस्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । टी–२० तर्फ अस्ट्रेलियाको घरेलु क्रिकेटमा उनले २८८ इनिङमा आठ हजार ५२६ रन जोडेका छन् । अस्ट्रेलियाको राष्ट्रिय टिमबाट लिनले चार एकदिवसीय र १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यी दुवै संरचनामा लिनले कुल ३६६ रन बनाएका छन् । यस्तै, हालसम्म तीन टिमबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका लिनले यसक्रममा एक हजार ३२९ रन बनाएका छन् ।

राष्ट्रिय टोलीका नियमित सदस्यसमेत रहेका मार्की खेलाडी  दीपेन्द्रसिंह ऐरी र विकेटकिपर ब्याटर विनोद भण्डारी हेर्नलायक नेपाली खेलाडीमा पर्छन् ।

दीपेन्द्र राष्ट्रिय टोलीमा टी–२० आई क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले एसियाडअअन्तर्गत मंगोलियाविरुद्ध नौ बलमा ५० रन बनाउँदै यो कीर्तिमान बनाएका हुन् ।

दीपेन्द्रले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ९५६ र एकदिवसीय क्रिकेटमा एक हजार २४१ रन बनाएका छन् । त्यसैगरी, बलिङतर्फ टी–२० र एकदिवसीय क्रिकेटमा क्रमशः ५८ र ४२ विकेट लिएका छन् । 

अघिल्लो वर्षको तथ्यांक 
अघिल्लो वर्ष फाइनलमा जनकपुरसँग पाँच विकेटले पराजित भएपछि सुदूरपश्चिम उपविजेतामा सीमित भएको थियो । 

लिग चरणमा सात खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहँदै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको थियो । सुदूरपश्चिमले लिग चरणको पहिलो, दोस्रो र तेस्रो खेलमा क्रमशः विराटनगर किंग्सलाई ९० रन, काठमाण्डू गोर्खाजलाई ७३ रन र लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो । 

चौथो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित भएको सुदूरपश्चिमले पाँचौँ, छैटौँ र सातौँ खेलमा क्रमशः जनकपुर बोल्ट्सविरुद्ध ७२, पोखरा एभेन्र्जसविरुद्ध पाँच रन र कर्णाली याक्सविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो । 

यसपछि, सुदूरपश्चिमले क्वालिफार्यस–१ मा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटको जित दर्ता गरेको थियो । तर, दुई पटक हराएको टिमसँग फाइनलमा निराश बन्दा सुदूरपश्चिम उपाधिविमुख भएको थियो ।

कमेन्टहरु