सुनवलमा कार दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

नवलपुर टुडे
२०८२ मंसिर १ | मध्यान्ह ०६:०८ बजे

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सुनवलका अनुसार दुर्घटनामा अर्घाखाँची पाणिनी गाउँपालिका करिब ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार नवलपरासीको सुनवल नगरपालिका भुमहीको बडेरामा पुलदेखि तल खोलामा खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कार चालक हरिसचन्द्र पौडेल सामान्य घाइते भएका छन् । मृतक मणिराम हरिसचन्द्रका बुवा रहेको खुलेको छ ।
घाइते भएका पौडेललाई तत्काल उपचारका लागि नजिकैको पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको र त्यहीँ उनको मृत्यु भएको हो । बाबु छोरा भएर काठमाडौँ जाँदै गर्दा कार दुर्घटनामा परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।























