बंगलादेशमा नरसंहारका आरोपित तीन जनामध्ये एक जनामात्र अदालतमा उपस्थित

एजेन्सी
२०८२ मंसिर १ | मध्यान्ह ०२:०८ बजे

ढाका । बंगलादेशमा विद्यार्थी आन्दोलनका क्रममा सरकारले गरेको नरसंहारका सम्बन्धमा सुनुवाइ गरिरहेको अदालतले सोमबार आफ्नो फैसला सुनाउँदैछ ।अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासले उक्त मुद्दामा फैसला सुनाइरहेको हो । इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।
तीन सदस्यीय इजलासमा तत्कालीन प्रधानमन्त्री शेख हसिना, तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई प्रतिवादी बनाइएको मुद्दामाथि लामो सुनुवाइ भएको हो ।मुद्दाको फैसला सुनाउने क्रममा पनि इजलासमा तत्कालीन प्रहरी महानिरीक्षक चौधरी उपस्थित छन् भने हसिना र असदुज्जमान अनुपस्थित छन् । हसिना हाल भारतमा स्वनिर्वासित जीवन बिताउँदै आएकी छन् ।
इजलासले हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएकोसमेत इजलासले ठहर गरेको छ । इजलासले उक्त कसुरको सजाय सुनाउन भने बाँकी छ ।


















